१२ प्रतिशत जनसंख्या आधारभूत खानेपानीबाटै वञ्चित

अछाम : अछामको बान्निगढी–जयगढ गाउँपालिकाको वीरखम्म टोलमै एउटा मात्र कुवा छ । हिउँद होस् वा बर्षा जहिल्यै पानी भर्न आउनेको घुइँचो हुन्छ। बिहान उज्यालो हुन नपाउँदै कुवामा पानी भर्ने मानिसको ताँती लागिसक्छ ।

पालो कुर्दाकुर्दै घरको अरू काम गर्न समय नहुने स्थानीय बासिन्दा बताउँछन् । ‘धारा छैन, कुवाको पानी सबैले भर्दाभर्दै धमिलो हुन थाल्छ।’स्थानीय पशुपती रावललले भन्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय सूचना व्यवस्थापन आयोजनाको तथ्यांक अनुसार ८८.२ प्रतिशत जनसंख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ।

 

सदियौं‌देखिका खोल्साखोल्सी र जरूवा मुहान सुक्दै गएपछि ५० घरको यो गाउँमा बस्तीमा पानी समस्या बर्षेनी बढ्दै गएको छ । बान्निगढी–जयगढको मात्र होइन देशका धेरैजसो क्षेत्रमा खानेपानीका मुहान सुक्न थालेपछि बैशाख जेठ महिनामा त झन समस्या हुने गरेको छ।

पिउने पानीको समस्या झेल्दै आएका नगरबासीलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न जलगुरूयोजना निर्माण गरी कार्यान्वयन गर्ने योजना छ, पञ्चदेवल–बिनायक नगरपालिकाका मेयर देवराज देवकोटाको । मुहान भएका ठाउँमा मुहान व्यवस्थित गर्ने र मुहान नभएका ठाउँमा छिमेकी गाउँबाट भएर पनि पानी ल्याउने गरी योेजना बनाउने मेयर देवकोटाले बताउनुभयो ।

कुनै बेला कुवामा पानी भरिभराउ हुने गरेकोमा पछिल्लो समय वनजंगल फडानी, मानववस्ती विस्तार, अनियन्त्रित विकास निर्माणको काम लगायत कारणले पानीका स्रोत सुक्दा कुवा पनि सुक्दै जान थालेका छन् ।

पछिल्लो समय चुरे र पहाडी क्षेत्रमा पानीका मुहान सुक्ने क्रम बढ्दो छ, भने तराईमा समेत भूमिगत पानीको स्रोत सुक्न थालेका छन्। जलवायु परिवर्तन, बढ्दो पानीको माग, वनजंगल फडानी, जनसंख्या वृद्धि, अव्यवस्थित विकास जस्ता कारणले मुहान सुक्न थालेको जलाधार व्यवस्थापन विज्ञ गोपालहरी शर्माले बताउनुभयो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसंख्या २ करोड ९५ लाख पुगेको छ। तर अझै १२ प्रतिशत नागरिक आधारभूत खानेपानीबाट समेत वञ्चित छन्। खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय सूचना व्यवस्थापन आयोजनाको तथ्यांक अनुसार ८८.२ प्रतिशत जनसंख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ।

विभागको तथ्यांकले २० प्रतिशत जनसंख्यामा मात्र उच्च मध्ययम स्तरको खानेपानीको पहुँच उपलब्ध भएको देखाउँछ ।

आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार गत वर्षसम्म ८७.९ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी पुगेको थियो ।

आधारभूत खानेपानी आँखाले सफा देखिए पनि स्वच्छ नहुन पनि सक्छ। किनकी खानेपानी तथा सरसफाइ नीतिले आधारभूत खानेपानीलाई प्रशोधन नगरिएको पानीलाई समेत समेटेको छ–जसमा कुवा, इनार,ट्यूबवेल लगायत पर्छन्। यद्यपि, कम्तिमा १५ मिनेटको पैदल दूरीमा पानी प्राप्त गरेकै हुनुपर्छ। यद्यपि, प्रशोधित पानीको स्रोत सार्वजनिक धारा समेत आधारभूत खानेपानीमै समावेश छ।

उच्च मध्ययम स्तरको खानेपानीको पहुँच त अझ न्यून छ। विभागको तथ्यांकले २० प्रतिशत जनसंख्यामा मात्र उच्च मध्ययम स्तरको खानेपानीको पहुँच उपलब्ध भएको देखाउँछ । उच्च मध्ययमस्तरको खानेपानी प्रशोधित प्रणाली हो, भने घरघरमा धारा जडान भएकै हुनुपर्छ।

खानेपानी तथा सरसफाइ नीति अनुसार ग्रामीण भेगमा एक व्यक्तिले प्रतिदिन कम्तिमा ४५ लिटर  र शहरी क्षेत्रमा १ सयदेखि १ सय २० लिटरसम्म पानी उपलब्ध भएको हुनुपर्छ । तर, हिमालीसँगै पहाडी क्षेत्र र काठमाडौं उपत्यका सहितका शहरी क्षेत्रमा पानीको समस्या झनै बढ्दै गएको छ ।

सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा आधारभूत स्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा पु-याइने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार