सुर्खेतका धारामा फ्लोसेडिङ : ४८ घण्टाको फरकमा ५५ लिटर पानी

सुर्खेत : खानेपानीको स्रोतमा बहाव कम भएसँगै सुर्खेत उपत्यकाका धारामा फ्लोसेडिङ सुरु भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले उपभोक्तालाई ४८ घण्टामा एक पटक पानी दिन थालेको छ ।

खानेपानी आयोजना मार्फत वीरेन्द्रनगरमा करिब १७ हजार खानेपानी धारा जडान गरिएको छ । १ सय ७८ लिटर प्रतिसेकेन्ड खानेपानी माग भइरहेकोमा आयोजनाले अहिले ८४ लिटर प्रतिसेकेन्ड मात्र पुर्‍याइरहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो । पानीका मुहान ४५ प्रतिशतले सुकेका छन्, उहाँले भन्नुभयो ‘पहिले सय लिटर पानीले भरिने भाँडोमा अहिले ५५ लिटर मात्र थापेर त्यसैले पुर्‍याउनुपर्ने बाध्यतामा उपभोक्ता छन् । उहाँले भेरी लिफ्टिङ आयोजना पूरा नभएसम्म वीरेन्द्रनगरमा पानीको अभाव भइरहने बताउनुभयो ।

स्थानीय होटल व्यवसायी कमल केसीका अनुसार अहिले नवलपरासी र नेपालगन्जबाट आएको पानीले बजारको माग धानिरहेको छ । लामो समयदेखि वीरेन्द्रनगर बजार र सार्वजनिक स्थानमा जारको पानी उपभोग हुने गरेको छ । घरमा झुप्रा आयोजनाको पानी प्रयोग गर्ने स्थानीयले समेत कार्यालय तथा बजारमा जारको पानी पिउने गरेका छन्,ु उहाँले भन्नुभयो ‘तर वीरेन्द्रनगर बजारमा दुई सातायता जारको पानी पाइनै छाडेको छ ।’

आयोजनाका इन्जिनियर बालाराम तिवारीले प्रशोधन प्रणालीबाट ट्यांकीमा राखी निर्मलीकरण गरेर मात्र धारामा पठाइने भएकाले पानी शतप्रतिशत शुद्ध भएको बताउनुभयो । आयोजनामा झुप्राखोला, खरीखोला, बोरीखोला, इत्राम, खोर्के र बुलबुले मुहानको पानी ल्याई वितरणको व्यवस्था मिलाइएको छ । उहाँका अनुसार सडक र नाली निर्माणका क्रममा पाइपलाइन फुट्ने र लिकेज हुने क्रम बढ्दै गएपछि खानेपानी व्यवस्थापनमा थप समस्या आएको छ ।

भेरी पम्पिङको पुनः डिजाइन गरिँदै

वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने गरी सुरु गर्न लागिएको भेरी पम्पिङ खानेपानी आयोजनाको पुनः डिजाइन  हुने भएको छ । गत असारमा डीपीआर सकिएको आयोजनाको डिजाइनका क्रममा केही त्रुटि देखिएकाले पुनः डिजाइन गर्न थालिएको हो ।

डीपीआरमाथि केही विज्ञ र वैज्ञानिक सन्तुष्ट नदेखिएकाले पुनः डिजाइन गर्न थालिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार डीपीआरका क्रममा ३ करोड लागत स्टिमेट अनुमान गरिएको थियो ।

यसअघि तीन इनारबाट प्रतिसेकेन्ड चार सय लिटर पानी तान्ने गरी डीपीआर गरिएको थियो, आयोजना प्रमुख पूर्णबहादुर जोहार्चनले भन्नुभयो ‘नेपालमा अहिलेसम्म इनारबाट ३० लिटर मात्र पानी एक सेकेन्डमा तान्न सकिएको छ, त्यसैले विज्ञको सल्लाहअनुसार पुनः आयोजनाको डिजाइन गर्न लागिएको हो । उहाँले पुनः डिजाइनको काम सकिएपछि मात्र टेन्डर प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।
कान्तिपुर दैनिकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार