सल्यान : लामो खडेरीका कारण सल्यानमा खानेपानीको हाहाकार भएको छ। बढ्दो गर्मीका कारण पानीका मुहान सुक्दै जान थालेपछि जिल्लाका अधिकांश स्थानमा खानेपानीको हाहाकार हुँदा स्थानीयले सास्ती व्यहोर्न परेको छ। खानेपानीको अभाव हुँदा बन्गाड कुपिन्डे नगरपालिका निगालचुला, माँझकाँडा, कपिण्डे, घाँजरीपिपल दार्मा गाउँपालिका ३ लगायतका स्थानबाट खानेपानीको अभावका कारण बसाइँसाई सर्न थालेका छन्।
लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीको सकश परेको बन्गाड कुपिन्डे नगरपालिका ३ मेलटाकुराका स्थानीय इन्द्र पुनले बताउनुभयो । ‘दिन भरमा तीनदेखि चार गाग्री पानी ल्याउन सकिन्छ। नुहाउने कपडा धुने त परकै कुरा हो। तीन गाग्री पानीले परिवारलाई पुर्याउन सकिन्छ की सकिँदैन चिन्ताले सताउने गर्छ।’ उहाँले भन्नुभयो ।
खानेपानीको अभावका कारण साना बालबालिकाको पढाइ समेत प्रभावित हुँदै आइरहेको निगालचुलाका प्रेमबहादुर पुनले बताउनुभयो । आकासे पानी संकलनका लागि निर्माण गरिएका पोखरीको पानीसमेत सुकेको भनाइ छ। बर्खामा पर्याप्त पानी नपर्दा आकासे पानी संकलनका लागि निर्माण गरिएका ट्यांकी समेत रित्तो भएको उहाँले बताउनुभयो ।
‘खानेपानीकै अभावका कारण बर्सेनि ४ देखि ५ जनासम्म बसाइँसराइ गर्दै आइरहेका छन्। गाउँमा आउने पानीको स्रोत नहुँदा ठूलो लगानीमा पानी बस्ती तलबाट तान्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय लालबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो ‘एक गाग्री पानीका लागि रातभर जाग्राम बस्नुपर्ने हुन्छ। मान्छेले खानको लागि त टाढैबाट मुहानबाट जसोतसो काम चलिरहेको छ। गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको छ।’ यो खबर थाहा खबरले छापेको छ ।
चार घण्टा लगाएर बोकेको पानी खानु कि शौचालयमा प्रयोग गर्नु ?
खानेपानीको अभावका कारण घर र विद्यालयमा बनाइएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन्। ३/४ घण्टा लगाएर बोकेको पानी खानु कि शौचालयमा प्रयोग गर्नु ? स्थानीय नारायण खत्रीले दुखेसो सुनाउनुभयो । पानीको अभावका कारण बस्ती नै पातलो बन्दै गइरहेको उहाँको भनाइ छ।
जिल्लाको अधिकांश जग्गा भिरालो हुनुका साथै बस्ती समेत पहाडको टुप्पोमा रहेका कारण सल्यानका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ। पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानीको चरम समस्या हुँदै आइरहेको बन्गाड कुपिन्डे नगरपालिका १२ का वडा अध्यक्ष गोविन्द डाँगीले बताउनुभयो।
लामो समयको खडेरीले बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ नगरपालिकाले ठोस कदम चाल्न जरुरी रहेको डाँगीको भनाइ छ। खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्णसरसफाइ अभिायान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता पाउन नसकेको उहाँको भनाइ छ।
वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन्।


1122 पटक हेरिएको 

