उदयपुर : ३७ वर्षअघि सुरु गरिएको योजना अझै सम्पन्न हुन नसक्दा त्रियुगा नगरपालिका– ८ र १६ का सर्वसाधारण खानेपानी समस्यामा छन् । २०३८ सालमा २० हजार रुपैयाँ बजेटबाट सुरु गरिएको साहीखोला खानेपानी आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न नहुँदा यहाँका १ हजार ८ सय घर परिवारले वर्षौंदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् ।
“२०५१ सालमा व्यवस्थित रूपले सञ्चालन गर्नका लागि ६५ वटा धारा बनाउने तयारी गरेका थियौं,” उहाँले भन्नुभयो “तर कतैबाट बजेट नआएपछि आयोजना अलपत्र परेको छ ।”
तत्कालीन समयमा जम्मा १३ घरधुरी हुँदा सुरु गरिएको आयोजनाका उपभोक्ता बढेर अहिले ४ सय ४३ घरधुरी पुगेको समितिका अध्यक्ष मदनराज कटुवालले बताउनुभयो । “आयोजना सम्पन्न हुन नपाउँदै लथालिङ भएपछि उपभोक्ताले हैरानी खेप्नु परेको छ,” उहाँले भन्नुभयो “तत्कालीन सांसद चक्रबहादुर बस्नेतको कार्यकालमा सुरु गरिएको आयोजनामा हालसम्म भरतबहादुर कार्की, कमलबहादुर राउत, नारायण खड्का, इश्वर खड्का र मदनराज कटुवाल गरी ५ जना अध्यक्ष फेरिसकेका छन् ।” सुरुका केही वर्ष २÷३ लाख बजेट विनियोजन हुने गरेको भए पनि करिब एक दशकदेखि कुनै बजेट विनियोजन हुन नसकेको उहाँले बताउनुभयो ।
कतैबाट पनि बजेट नपाएपछि स्थानीय आफैले चन्दा उठाएर दुःखले मर्मत गरी पानी सञ्चालनमा ल्याए पनि नियमित नभएको अध्यक्ष कटुवालले बताउनुभयो । “सुरु भएको आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्नुपर्ने हो,” उहाँले भन्नुभयो “तर अहिलेसम्म केही काम नै हुनसकेको छैन ।” बजेट अभावकै कारण जमिनमुनि राख्नु पर्ने पाइप जमिनमाथि नै राखेर स्थानीय आफैंले योजना सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । यो खबर आजको कारोबार दैनिकले छापेको छ ।
ठाउँ–ठाउँमा प्वाल र गाँसिएका भागबाट यत्रतत्र पानी चुहेर जाँदा पुछारका बस्तीमा पानी नै आइनपुग्ने समस्या छ । पानीको अन्य कुनै स्रोत र विकल्प नभएका कारण जुनसुकै हालतमा पनि त्यहीँको पानी प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयको छ ।
दिगो समाधान हुने गरी एकमुष्ट बजेट नआउँदा उपभोक्ता मर्कामा परेको खानेपानी उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायण खड्काले बताउनुभयो । “२०५१ सालमा व्यवस्थित रूपले सञ्चालन गर्नका लागि ६५ वटा धारा बनाउने तयारी गरेका थियौं,” उहाँले भन्नुभयो “तर कतैबाट बजेट नआएपछि आयोजना अलपत्र परेको छ ।” धारामा पानी नआएपछि सर्वसाधारण खोला तथा कुवाको दूषित पानी पिउन बाध्य भएको उहाँले जानकारी दिनुभयो । “बस्ती उच्च ठाउँमा भएकाले ट्युबेल र इनारमा पानी आउँदैन,” उहाँले भन्नुभयो “त्यसैले दूषित भए पनि प्यास मेटाउन खोला र कुवा धाउनु परेको छ ।”
पानीको स्रोत प्रसस्तै भएर पनि बजेट व्यवस्थापन हुन नसक्दा समस्यामा परेको उपभोक्ताको भनाइ छ । करिब ५ किमिमाथि रहेको साहीखोलामा पानीको स्रोत भए पनि ल्याउने माध्यम नहुँदा दूषित पानी पिउन बाध्य भएको स्थानीय इन्द्रबहादुर बस्नेतले बताउनुभयो । “सबै बस्तीलाई पुग्ने गरी मुहानमा पानी छ,” उहाँ भन्नुहुन्छ “तर, त्यसलाई गाउँसम्म ल्याउन सकिएको छैन ।”
बजेट व्यवस्थापनका लागि जनप्रतिनिधि, खानेपानी कार्यालय र मन्त्रालयसम्म पटकपटक पुगेको अध्यक्ष कटुवालले बताउनुभयो । “खोलामा ३५ मिटर अग्लो ड्याम बनाएर आयोजना सञ्चालन गर्ने गरी प्रस्ताव पेस गरिएको छ,” उहाँले भन्नुभयो “प्रतिसेकेण्ड ७ लिटरसम्म क्षमता रहेको उक्त आयोजनाका लागि बजेट व्यवस्थापन भए प्रत्येक घरमा धारा बनाउन सकिन्छ ।”
पानी अभावकै कारण वडामा रहेका तीनवटा विद्यालयका शौचालय समेत प्रयोगमा नआएको स्थानीय बताउँछन् । पानी अभाव भएपछि विद्यार्थीलाई समेत समस्या भएको आधारभूत विद्यालय साहीखोलाका शिक्षक भरत बस्नेतले बताउनुभयो ।


700 पटक हेरिएको 

