
काठमाडौ : खानेपानीको अभावमा काकाकुल बनेका राजधानीका बासिन्दाले खानेपानी आपूर्तिका लागि सरकारलाई दबाब दिने भएको छ । सरकारलाई दबाब दिन उपत्यका खानेपानी पीडित दबाब समुदायले यही ३२ गते थापाथली चोकमा विशाल नागरिक भेला आयोजना गर्ने भएको छ । बिहान ११ बजे हुने नागरिक भेलामा हजारौंलाई उतार्न दबाब समूहले उपस्थितिका लागि आव्हान गरेको छ ।
३२ गते हुने नागरिक भेलाको तयारी स्वरुप आज ललितपुरको कुम्भेश्वर बंगलामुखी पाटनमा खानेपानी पीडित समुदाय भेला भएका थिए । पाटनमा स्वतः स्फुर्त भेला भएका खानेपानी पीडितले पानीको लागि दबाब दिन सडकमा ओर्लिन आग्रह गरेका थिए । मेलम्चीको काम चाँडै सुचारु गर, खानेपानीको समस्या समाधान गर जस्ता ब्यानर बोकेका खानेपानी पीडितले दबाब नदिएसम्म सरकारको कान खुला नहुने र ५ प्रतिशत मात्र सक्न बाँकी रहेको मेलम्ची आयोजना समेत अघि नबढ्ने बताएका थिए ।

करिब ९५ प्रतिशत काम सम्पन्न भईसकेको मेलम्चीको काम ठप्प भएको ६ महिना वितिसकेको छ । सरकारले मेलम्चीको काम द्रुत मार्गबाट अगाडि बढाउन बहुपक्षीय सहमति जुटाउने प्रयास गरिरहेको जनाएको छ । मेलम्चीको ठेकेदार कम्पनी सिएमसीले काम छाडेर हिडेपछि मेलम्चीको काम ठप्प छ ।


1735 पटक हेरिएको 

