गोरखाका तीन खानेपानी आयोजना स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा

गोरखा : आरुघाट गाउँपालिका ५ आरुआर्वाङका तीनवटा खानेपानी आयोजनालाई स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गरिएको छ । रातोपाते धोविखोला, जलदेवी भुमेस्थान र कार्की बिरौटा खानेपानी आयोजनालाई स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गरिएको हो ।

सुरक्षित खानेपानीयुक्त समुदाय बनाउने अभियान स्वरुप स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाा गरिएको उत्पीडित समुदाय विकास शाखा अनुसन्धान केन्द्र (कोसडर) गोरखाका कार्यक्रम संयोजक काजिराम रोकाले बताउनुभयो । यूनिसेफको आर्थिक र कोसडरको प्राविधिक सहयोगमा काम भएको हो ।

स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाका आधार

स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गर्नुभन्दा पहिले ती खानेपानी आयोजनाको मुहानमा कोलिफर्म मापन गरिएको थियो । यस्तै आर्सेनिक र इको प्यारामिटरर जाँच गरिउको थियो । कोसडरका इन्जिनियर भिमसेन श्रेष्ठ भन्नुहुन्छ ‘यसरी मापन गरेपछि पानीमा किटाणु भए नभएको थाहा भयो । हामीले तीन वटै आयोजनाको मुहान क्लोरिनेसन गरेर शुद्ध बनायौ ।’

आयोजनाका स्रोत, भण्डारण, वितरण प्रणाली, धारा र घरायसी भण्डारण सवैको गुणस्तर मापन समेत गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

स्वच्छ खानेपानीयुक्त समुदाय घोषणा भएका उक्त आयोजनाको महिना महिनामा पानीको गुणस्तर र शुद्धता परिक्षण गर्नुपर्ने उहाँको भनाइ छ । आफ्नो गाउँपालिका भित्रका तीन आयोजना स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा भएकोमा गाउँपालिका अध्यक्ष पूर्ण दाहालले खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिका भित्रका सबै खानेपानी आयोजनालाइ स्वच्छ खानेपानीयुक्त घोषणाका लागि पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शहीद लखन गाउँपालिका नाम्जुङ्गको रिपखोला खानेपानी आयोजना र सिरानचोक गाउँपालिकाको खैरेनीवन खानेपानी आयोजनालाइ पनि स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाको अन्तिम तयारी भइरहेको कोसडरका कार्यक्रम संयोजक रोकाले बताउनुभयो ।

यसअघि जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधि तथा प्राविधिकलाई खानेपानी सुरक्षा योजना सम्बन्धी चार दिनको तालिम समेत प्रदान गरिएको थियो । मुहानदेखि मुखसम्म कसरी स्वच्छ खानेपानी उपभोग गर्न सकिन्छ भन्ने बारे तालिममा सहजीकरण गरिएको उहाँको भनाइ छ । घरमै पानी पाएर खुशी भएका स्थानीयबासिन्दा पानीको शुद्धता मापन समेत हुन थालेपछि दंग छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार