धनुषा : जनकपुरका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार, पाँच सय फिट खनेर ह्यान्ड पम्प जडान गर्दा पनि मुस्किलले पानी आउने गरेको स्थानीय बासिन्दा बताउँछन्। अझ दिउँसो भएपछि त्यो पानी पनि आउन छाड्दा स्थानीयलाई खानेपानीको समस्या बढेको छ ।
चुरे विनाशका कारण खानेपानीको अभाव भएको विज्ञहरूको भनाइ छ । तराई मधेसको चुरे जंगललाई जोगाउन नसक्दा मधेसमा खानेपानी ठूलो समस्या बन्दै गएको खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मिश्रले बताउनुभयो । चुरे विनाशले भूमिगत पानीको सतह घट्दै गएको उहाँले बताउनुभयो । चुरेक्षेत्रको जलाधार क्षेत्र पुरिँदै जाँदा पानीको सतह घटेको उनको भनाइ छ ।
गर्मी बढिरहेका वेला जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा खानेपानी अभाव देखिएको छ । हातेकलमा पानी आउन छाडेपछि नगर क्षेत्रमा खानेपानीको समस्या बढेको हो । तत्काल समस्या समाधान गर्न उपमहानगरपालिकाले नगरका सुक्खाग्रस्त टोलमा पानी वितरण गर्न थालेपनि त्यो पर्याप्त भएको छैन । उपमहानगरकी उपप्रमुख रीता मिश्रको अगुवाइमा भएको छलफलमा वडा नम्बर ३, १० र ११ मा पहिलो चरणमा ट्यांकरबाट सफा पिउने पानी वितरण गर्ने निर्णय भएको थियो ।
नगरपालिकाले विपत् व्यवस्थापन कोषबाट व्यवस्थापन गर्ने गरी नगरमा पानी वितरण गर्ने निर्णय भएको छ । पहिलो चरण नगरका सबैभन्दा बढी प्रभावित तीन वडालाई समेटिए पनि दोस्रो चरणमा नगरका सम्पूर्ण वडामा सफा पिउनेपानी वितरण गरिने उपप्रमुख रीताकुमारी मिश्रले जानकारी दिनुभयो ।
पानी वितरणमा सम्बन्धित वडाका अध्यक्ष र सदस्यहरूले समन्वय गर्ने भएको छ । ट्यांकरबाट वितरण गरिने पानी हरेक घरमा पुर्याइने भएको छ । उपप्रमुख मिश्रले नगरका सम्पूर्ण व्यक्तिलाई ट्यांकर पुगेको वेला आफूलाई चाहिने पानी सुरक्षित गरेर राख्न नगरवासीलाई आह्वान समेत गर्नुभयो ।


1171 पटक हेरिएको 

