ठूला खानेपानी आयोजनामै ‘इकोलाइ’ को मात्रा उच्च

🔗
3
Shares

 

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रभित्र खानेपानी आपूर्ति गर्दै आएको पाँच ठूला खानेपानी आयोजनाको पानीमा ‘इकोलाइ’ नामक ब्याक्टेरिया भेटिएको छ ।

सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिका क्षेत्र भित्रको खानेपानीको नमूना परीक्षण गर्दा सबै खानेपानी आयोजनाबाट बितरित खानेपानीमा इकोलाइको मात्रा धेरै भेटिएको सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट उमाकान्त न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाले नगरपालिकाभित्र पर्ने सुन्दरबजार नगरपालिका १, कुन्छामा रहेको भाँगु खानेपानी आयोजना, वडा नं २, परेवाडाँडामा रहेको दारेगौँडा खानेपानी आयोजना, वडा नं ६ र ७ का नागरिकले उपयोग गर्दै आएको सुन्दरबजार खानेपानी आयोजना र वडा नं ६, खत्रीठाँटीमा रहेको ढोडेसिंंह खानेपानी आयोजनाबाट वितरण भइरहेको खानेपानीको नमूना परीक्षण गरेको थियो।

सुन्दरबजार नगरक्षेत्रका ठूला पाँच खानेपानीका आयोजनाका मुहान र ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानी संकलन गरी परिक्षणका लागि स्वास्थ्य कार्यालय लमजुङमा पठाइएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट उमाकान्त न्यौपानेले जानकारी दिनुभयो ।

कहाँको पानीमा कति इकोलाई ?

स्वास्थ्य शाखाका अनुसार पानीमा इकोलाइ ब्याक्टेरियाको मात्रा शून्य हुनुपर्ने भएपनि प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदन अनुसार लसुने खोला खानोपनी आयोजनाको मुहानको पानीमा इकोलाइको मात्रा १८, ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानीमा इकोलाइको मात्रा ३९ भेटिएको छ ।

यस्तै सुन्दरबजार खानेपानी आयोजनाको मुहानको पानीमा इकोलाइको मात्रा १२०, पहिलो धाराको पानीमा इकोलाइको मात्रा १ सय ५३, दारेगौँडा खानेपानी आयोजनाको मुहानको पानीमा १८०, धाराको पानीमा ३ सय बढि इकोलाइको मात्रा भेटिएको छ ।

यसैगरी, भाँगु खानेपानी आयोजनाको मुहानको पानीमा १५, धाराको पानीमा ४८ र ढोडेसिंंह खानेपानी आयोजनाको मुहानको पानीमा ५० र धाराको पानीमा २ सयभन्दा बढि इकोलाइको मात्रा भेटिएको छ । इकोलाइ भएको पानी पिउँदा झाडापखला हैजा लाग्न सक्छ ।

सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक निर्मल अधिकारीले ती खानेपानी आयोजनाले मुहानका साथै ट्यांकी सरसफाइमा ध्यान दिनुपर्ने र ट्यांकीमा आवश्यकता अनुसार पोटासको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उपभोक्ताले पनि पानी उमालेर, छानेर, सोडिस प्रविधिका साथै क्लोरिन हालेर शुद्धिकरण गर्न शाखाका प्रमुख रामेश्वर सेढाइँले बताउनुभयो ।
पानीको शुद्धीकरण गरी वितरण गर्नका लागि सम्वन्धित खानेपानी आयोजनालाई पत्र लेखि पठाइने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार