तमोर लिफ्टिङको काम ४० प्रतिशत, सात महिनाभित्रै सम्पन्न हुने दाबी

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिकामा तमोर नदीबाट पानी लिफ्टिङ गर्ने योजनाको काम करिब ४० प्रतिशत सम्पन्न भएको छ । १६ सय ४ घरधुरीका लागि थालिएको योजनाले तुम्बेवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सबै क्षेत्रमा खानेपानी पुग्ने आयोजनाका सामाजिक परिचालक पुन्य सेढाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ४ र ५ मा भने अर्को योजनाको काम भइरहेको छ । त्यहाँ स्थानीय नावा खोलाबाट पानी ल्याउने गरी काम भइरहेको छ । प्रदेश सरकारले यी दुई गाउँपालिकामा फरक प्रकृतिको कृषि प्रणाली पनि सुरु गर्ने तयारी गरेको छ ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तत्कालीन राहत भन्दा पनि प्रदेश सरकार दीर्घकालीन समाधानको पक्षमा रहेको बताउनुभयो ।

त्यसो त कुम्मायक र तुम्बेवा गाउँपालिकामा विगतमा खानेपानीका लागि तत्कालीन राहतस्वरूप ६० लाख रुपैयाँ रकम वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष होम थापाका अनुसार प्रति परिवार ८ हजारका दरले ७ सय ६९ परिवारलाई राहत रकम बाँडिएको थियो । गाउँपालिकाले प्रतिपरिवार तीन हजार र १ नम्बर प्रदेश सरकारले ५ हजारका दरले रकम बाँडेको थियो । तर, यस वर्ष भने खानेपानीका लागि राहत वितरण गरिएको छैन ।

आगामी सात महिना भित्र दुवै गाउँपालिकाका बासिन्दाको समस्या समाधान गर्ने लक्ष्यसाथ काम गरिरहेको मन्त्री आङ्बोले बताउनुभयो । उहाँले दक्षिणी पाँचथरका सुक्खा क्षेत्रको समस्या समाधान गर्ने उद्देश्यले स्थापना गरिएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम पूरा भएपछि खानेपानी समस्या सधैका लागि अन्त्य हुने दाबी गर्नुभयो ।

यसअघि पनि कुम्मायक गाउँपालिका सहित पाँच स्थानमा डिप बोरिङ मार्फत खानेपानी वितरण गरिएको थियो । तर अति सुख्खाग्रस्त क्षेत्र तुम्बेवामा विद्युत् आपूर्ति नियमित नहुँदा डिप बोरिङ प्रभावकारी हुन सकेको थिएन ।

अहिले विद्युत् विस्तार हुनुका साथै नियमित समेत भएकाले लिफ्टिङबाटै समस्याको समाधान खोज्ने प्रदेश सरकारको तयारी छ  । गाउँपालिकाले तत्कालको समस्या भने समपूरक कोष मार्फत गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार