कर्मचारी समायोजनको असर खानेपानीमा, २ पटक म्याद थप्दा पनि ६१% मात्र काम

 

 काभ्रेको तेमाल बृहत पम्पिङ सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता अनुसार पहिलो प्याकेज (सुनकोशीको पानी लिफ्टिङ गरेर थोक वितरण प्रणालीको अन्तिम रिजभ्र्वायर ट्याङ्की सम्म पु्याउने काम) २०७५ वैशाख २४ भित्रै सम्पन्न गर्नुपर्ने थियो । २०७३ वैशाख २६ मै टेण्डर स्वीकृत भएको पहिलो प्याकेजको काम समयमै सम्पन्न नभएपछि पहिलो म्याद २०७५ कार्तिक २४ सम्मका लागि थपिएको थियो ।

उक्त अवधिमा समेत काम सम्पन्न नभएपछि फेरि दोस्रो पटक म्याद थपिएको थियो । दोस्रो पटक थपिएको म्याद पनि यही २५ गते सकिदैछ । तर यो आयोजनाको पहिलो प्याकेजको काम भने ६१ प्रतिशत मात्र सम्पन्न भएको छ । ठेकेदार कम्पनीले तेस्रो पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाईसकेको छ । कम्पनीले आगामी २०७७ साल वैशाख सम्मको म्याद थप गरिदिन यथेष्ट कारणहरु पेश गरेको छ ।

 

 तेमाल बृहत पम्पिङ सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाकै दोस्रो प्याकेजको टेण्डर २०७५ असार २४ मा स्वीकृत भयो । तर निर्माण कम्पनीले सम्झौताको ८ महिनापछि मात्र अर्थात २०७५ फागुन १५ मा मात्र कार्यदेश पायो । २०७७ साल मंसिर २१ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद पाएको यो आयोजनाको भौतिक प्रगति २८.६१ प्रतिशत र वित्तिय प्रगति २२.१४ पुगेको छ ।

 

 काभ्रेकै चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपानी तथा सरसफाइ आयोजना सुरु भएको पनि १ बर्ष पूरा भइसकेको छ । बाँकी रहेको १ बर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने दायित्व भएपनि निर्माण कम्पनीले सोचे अनुरुप प्रगति देखाउन सकेको छैन । अन्य आयोजनाका ठेकेदारले जस्तै यो आयोजनाको ठेकेदारले पनि ठेक्का स्वीकृत भएको करिब ९ महिना हुँदा मात्र काम गर्ने कार्यदेश पाएको थियो ।

यी र यस्ता थुप्रै खानेपानी तथा सरसफाइ आयोजनाहरु छन् जसले तोके अनुरुपको वित्तिय तथा भौतिक प्रगति पूरा गर्नै सकेका छैनन् । खानेपानी आयोजनाहरुको ठेक्का स्वीकृत भएर पनि लामो समयपछि मात्र कार्यदेश पाउनु र अन्य काममा समेत ढिलाई हुनुमा कर्मचारी समायोजनको प्रक्रिया प्रमुख कारक रहेको निर्माण व्यवसायीहरु बताउँछन् ।

ठेक्का सम्झौता भएपछिका लामो समय अन्यौलमै बितेको र कुन आयोजना कसले हेर्ने भन्ने समेत निक्र्यौल नहुँदा आफूहरुले काम गर्न नपाएको चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदार गौरी प्रसाद उप्रेतीले बताउनुभयो । ‘कर्मचारी समायोजनमा ढिलाई हुँदा हामीले ठेक्का पाएपनि साईट पाउन सकेनौं, ८/९ महिना त अन्यौलमै बित्यो । फागुनमा आएर बल्ल कार्यदेश पाएर सुरु गरेको कामको प्रगति राम्रै छ । हामीले ९ महिना सम्म काम गर्न नपाएपनि तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न सक्छौं भन्ने चाहिं लागेको छ’ व्यवसायी उप्रेतीले भन्नुभयो ।

अर्का निर्माण व्यवसायी वसन्त चन्दले पनि कर्मचारी समायोजनमा भएको ढिलाईले निर्माणको काम ठप्प हुँदा सोचे अनुरुप प्रगति हासिल गर्न नसकेको बताउनुभयो । यद्यपि कार्यदेश पाएपछिको छोटो समयमै धेरै प्रगति भएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीको यो भनाईमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका आयोजना प्रमुख नन्दलाल बन्जाडे पनि सहमत हुनुहुन्छ । यस बर्ष संघीय प्रणाली अनुसार तीनै तहमा कर्मचारी समायोजनको कामले सरकारले कर्मचारी खटाउन ढिलाई गरेकाले आयोजनाले लक्षित प्रगति हासिल गर्न नसक्नु स्वभाविक रहेको उहाँले बताउनुभयो । ‘सरकारले कर्मचारी खटनपटन गर्न ढिलाई ग-यो । हामीलाई माघ महिनामा मात्र अहिलेको कार्यालयमा त्यो पनि काजमा खटायो । कर्मचारीको पदस्थापना बैशाख जेठमा मात्र भयो । त्यसैले केही ढिलाई भएकै हो । तर अब कामले गति लिन थालिसकेको छ । हामी निर्धारित समयभित्र आयोजना सम्पन्न गरी पानीको प्यासले छटपटाईरहेका उपभोक्तालाई सुरक्षित खानेपानी आपूर्ति गर्न आतुर छौं ।’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार