चन्द्रागिरी क्षेत्रमा मात्र १४० पानीका स्रोत, शत प्रतिशत पानीमा कोलिफर्म

 

काठमाडौ : काठमाडौको चन्द्रागिरी नगरपालिका क्षेत्रमा मात्र १४० वटा पानीको स्रोत पहिचान भएको छ । मिनर्जी इनिसिएटिभले जिआईएस म्यापिङको माध्यमबाट चन्द्रागिरी नगरपालिका भित्र मात्र यत्ति धेरै पानीको स्रोत पहिचान गरेको हो । ती मध्ये सबैभन्दा धेरै पानीको स्रोत वडा नं. ८ मा भेटिएको छ । वडा नं. ८ मा रहेको २४ वटा पानीको स्रोत मध्ये १३ वटा स्रोतबाट ट्याङ्करले पानी भरेर काठमाडौ उपत्यकामा आपूर्ति गर्दै आएको छ ।

यस्तै वडा नं. १ मा २० वटा, २ र १५ मा १७/१७ वटा, ४ र १४ मा ९ /९ वटा पानीको स्रोत भेटिएको मिनर्जी इनिसिएटिभकी कार्यकारी निर्देशक उषा मास्केले जानकारी दिनुभयो । चन्द्रागिरी नगरपालिका क्षेत्रमा यत्ति धेरै पानीको स्रोत भएपनि काठमाडौ उपत्यकामा ट्याङकर मार्फत आपूर्ति हुने पानी भने वडा नं. ८ र १५ बाट मात्र आयात हुँदै आएको छ ।

शत प्रतिशत पानीमा कोलिफर्म

चन्द्रागिरी नगरपालिकाको सबै पानीको स्रोतमा कोलिफर्म भेटिएको छ । मिनर्जी इनिसिएटिभले प्रयोगशाला परिक्षण गर्दा त्यहाँको शत प्रतिशत पानीको स्रोतमा कोलिफर्म रहेको पुष्टि भएको हो । त्यसमा पनि पुरानो नैकाप र नयाँ नैकाप क्षेत्रको पानीमा कोलिफर्मको मात्रा सबैभन्दा उच्च देखिएको छ ।

अध्ययनले अमोनिया र आइरनको मात्रा समेत विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा बढी देखाएको छ । अध्ययन अनुसार १५ प्रतिशत पानीमा आइरन र १० प्रतिशतमा अमोनिया भेटिएको छ ।

खानेपानी दुषित भएको पाएपछि मिनर्जी इनिसिएटिभले चन्द्रागिरी नगरपालिकाको ७ ठाउँमा पानी प्रशोधन प्रविधि जडान गरेको छ । चन्द्रागिरी नगरपालिका क्षेत्रको थानेटार, महादेवस्थान, चिहानडाँडा, माछेगाउँ लगायत ठाउँको ४ वटा डिप बोरिङ र ३ वटा स्प्रिङ वाटर सिस्टममा पानी प्रशोधन प्रविधि जडान गरिएको कार्यकारी निर्देशक मास्केले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी प्रशोधन प्रविधि जडान भएपछि २० वटा सार्वजनिक धारा मार्फत ३ हजार ३७० घरपरिवारका १२ हजार ८५० जनाले सुरक्षित पानी उपभोग गर्न पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार