सरसफाइमा चुनौतीपूर्ण मानिएको पालिका ओडिएफमा तेस्रो

विनोद कुमार महतो कुशवाहा

आधारभूत सरसफाइको पहुँचको हिसाबले २०७५ को मध्यसम्ममा नेपालमै सबैभन्दा पछि परेको जिल्लाको नाम हो, बारा । जो नेपालको नक्सामै ७७ जिल्लामध्ये रातो रंगले पोतिएको थियो । हो, रातो रंगले पोतिनुमा आफैमा खतरा हो भने बुझिन्छ र त्यही बुझाइ बाराको थियो । जो सरसफाइमा मेहनत गर्दा पनि रातो चिन्ह हटाउन र हरियो चिन्ह लगाउन अहोरात्र कसरत भयो । जसको फलस्वरुप २०७६ को सुरुवातमै बाराले नेपालको नक्सामा देखिएको रातो दागलाई हरियो हुने अवस्थामा पु-याएको छ ।

ठ्याक्कै यही अवस्था बारा जिल्लाभित्रका केही नगरपालिका तथा गाउँपालिकाहरुको पनि थियो । जिल्लाका गाउँपालिकाभरि चर्पी निर्माण कार्य र सरसफाइ अभियान विभिन्न दातृ निकाय, आइ एनजिओ, एनजिओको सहजीकरणमा तिव्रता पाएको भएपनि उल्लेख्य प्रगति भने हासिल हुन सकेको थिएन ।

कतिपय गाउँपालिकाहरुमा सरसफाइ र खुल्ला दिसामुक्त अभियान चलाउनु फलाम चपाउनु जस्तै मुश्किल थियो । नत पालिकाले चासो लिने न त सहज वातावरण बनाई दिने, जसको कारण पालिकाहरु सरसफाइमा पछि परेपछि समग्र जिल्ला नै पछि, पर्नु स्वभाविकै थियो । पछि परेकै पालिकाहरुको सूचीमा थियो, जिल्लाकै दक्षिण भेगमा पर्ने र भारतसँग सीमा जोडिएको सुवर्ण गाउँपालिका कवहीगोठ, जहाँ अभियान चलाउनु निकै सकस र चुनौतीपूर्ण थियो ।

भनिन्छ नि, जस्तो सुकै कठिन र चुनौती भएपनि लगनशीलता र मेहनतले पक्कै पनि सफलता भेटिन्छ । सबै चुनौती र कठिन अवस्थाहरुलाई चिर्दै एक वर्ष भित्रै सुवर्ण गाउँपालिका जिल्लाकै तेस्रो पालिका (स्थानीय तह)को रुपमा खुल्ला दिसामुक्त हुन सफल भएको छ ।
यादव जातिको बाहुल्यता रहेको सुवर्ण गाउँपालिकामा स्थानीयहरुको एउटा भनाई एकदमै प्रचलित रहेको छ, “जो अहिरलाई बुझाउँछ, त्यो महावीर कहलाउँछ ।”

सुरुमा त अहिरलाई सरसफाइ र चर्पी बनाउन अभियन्ताहरुलाई सकस भएकै हो, तर बुझेपछि चर्पी पनि बनेकै हो ।
जनप्रतिनिधी, अभियानकर्मीहरुको सफल नेतृत्व, लगनशीलता, अहोरात्रको मेहनत, प्रहरी प्रशासनको सहयोग र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको हरेकको गाँठो फुकाउने कार्यमा भएको अतुलनीय सहयोगी भावनाले आज पालिकाले सरसफाइको पहिलो खुड्किलो पार गर्न सफल भएको छ । चर्पी निर्माण र पालिका ओडिएफको लागि हप्तैपिच्छे अभियन्ताहरुलाई घच्घच्याउने र आएको समस्या, बाधा अवरोध फुकाउने कार्यमा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवको भूमिका साँच्चिकै फलदायी सावित भएको छ ।

गाउँपालिकाको तर्फबाट उहाँको जुन भूमिका हुनुपर्ने हो, त्यसमा उहाँ कहिँ कतै पनि चुक्नु भएको छैन् । उहाँ स्वयम् र अभियानकर्मीहरुलार्ई पनि चुक्न दिनु भएको छैन्, मेलै त्यहाँ बसेर आफै संस्थाको तर्फबाट सहजीकरणको नेतृत्व लिएको र पाएको सहयोगको आधारमा जस्तो बुझेको छु ।

८ वटा वडामा विभाजित सुवर्ण गाउँपालिकाको ७ वटा वडामा जि.एस.एफ/यूएन ह्याविट्याटको साझेदारीमा पुनर्जागरण समाज नेपालले अभियानको सहजीकरण गरेको थियो भने वडा नं. ७ मा फण्डबोर्डको सहयोगमा आर.डि.सी.ले सहजीकरण गरेको थियो ।

४ हजार १ घरधुरी रहेको सुवर्ण गाउँपालिकामा अभियान पूर्व १ हजार ६७३ घरधुरीमा मात्र सुरक्षित चर्पीको पहुँच थियो भने अभियानपछि २ हजार ३३८ घरधुरीमा सुरक्षित चर्पी निर्माण भएको भएको छ ।

सुवर्ण गाउँपालिकालाई यही असार २९ गते डिवाससीसीले जिल्लाको तेस्रो स्थानीय तह एवं दोस्रो गाउँपालिकाको रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार