जाजरकोट : जाजरकोटको रिम्ना स्थित तल्लोपुल बजार क्षेत्रका बासिन्दाले घरलौरी नगद संकलन र श्रमदान जुटाएर कुवा खनेका छन् । भेरी नगरपालिका–१ का ३३ घरपरिवार मिलेर कुवा निर्माण गरेका हुन् ।
कुवाका लागि गाउँलेले १५/१५ दिन श्रमदान र २/२ हजार नगद उठाएको तल्लो पूल बजारकी आरती रानाले बताउनुभयो । उहाँका अनुसार डोजरको सहायताले १० मिटर गहिरो कुवा खनिएको छ । कुवाको खाल्डो खन्न डोजर खर्च, वाल निर्माण, २ सय मिटर पाइप, तारजाली, सिमेन्ट र मोटर लगायतको खर्च गाउँलेले नै व्यहोरेका हुन् ।
भेरी नदीको किनारमा रहेको तल्लो पुलका बासिन्दा यसअघि पानीका लागि १ घण्टा टाढाको मुलमा धाउँथे । गाउँमै कुवा निर्माण भएपछि सास्ती घटेको स्थानीय नैनकली रानाले बताउनुभयो । खानेपानीका लागि पटक–पटक नगरपालिका लगायत निकायसँग माग गरे पनि कसैले नसुनेको उहाँको भनाई छ ।
कुवाको पानी बिजुलीको मोटर लगाएर तान्ने गरिएको छ । बिजुली नभएका बेला भने पानी तान्न समस्या हुने गरेको छ । वडामा बजेट नहुँदा कुवा निर्माणमा सहयोग गर्न नसकेको वडाध्यक्ष दीपक रानाले बताउनुभयो ।
नदी किनारमा कुवा निर्माण गरेर मोटरको सहायताले २ सय मिटर माथिको गाउँ सम्म पानी तानेर बितरण गरिएको छ । खानेपानीबाट ३३ घरपरिवार सहित विद्यालय, प्रहरीचौकी र होटल व्यवसायी समेत लाभान्वित भएका छन् ।


1009 पटक हेरिएको 

