पाल्पामा ६५ भन्दा बढी आयोजना १० बर्षदेखि अधुरै

पाल्पा : सरकारले ‘एक घर एक धारा’ को अवधारणा अघि बढाएको २ वर्ष बितिसक्यो । तर पाल्पामा भने १० वर्षदेखि सम्पन्न हुन नसकेका खानेपानीका योजना ६५ वटा भन्दा बढी छन् । सरकारले पर्याप्त बजेट र आवश्यकता अनुसार कर्मचारी नखटाउँदा क्रमागत योजनाहरु समयमै सम्पन्न हुन नसकेका हुन् ।

विगतमा केन्द्रबाट स्वीकृत योजनाहरु अझै सम्पन्न हुन नसेकेर अलपत्र परेका छन् । बाँकी सबै प्रदेशमा फाइल मात्र सरेका छन् । कार्यालयमा पठाउने न्यून बजेटले त्यस्ता योजना समयमा पूरा हुन नसकेको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ । ३ वर्षमा सम्पन्न गर्ने गरी त्यस्ता योजना राष्ट्रिय योजना आयोगले स्वीकृत दिने गथ्र्यो । अहिले प्रदेश सरकारमा त्यस्ता योजना पेस हुन थालेका छन् । काम सुरु भएका योजना वर्षौंसम्म पूरा नहुँदा स्थानीयले भने सास्ती खेप्नुपरेको छ ।

कतिपय योजनाको पाइप किनेर राखिएको छ । केहीका टंकी निर्माण भएर पाइप किन्न नसक्ने अवस्था छ । बजेट अभावले खानेपानीका अधिकांश योजना लथालिंग छन् । उपभोक्ताबाट सम्पन्न गरिने योजनामा लागत रकमको ५ प्रतिशत पनि हरेक वर्ष नआउने समस्या रहेको मेहल्ढाप, काफलबुटा खानेपानी योजनाका अध्यक्ष खिमप्रसाद गौतमले भन्नुभयो ।

रैनादेवी छहरा गाउँपालिका, काफलबुटा र मेहल्ढापका लागि २ करोड बढीको लिफ्ट खानेपानी योजना सुरु भएको ५ वर्ष भइसक्यो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन । हरेक वर्ष बजेटकै अभाव हुने गर्छ । त्यसैले पनि तोकिएको मितिमा योजना सम्पन्न हुन सकेका छैनन् । ३ सय बढी घर परिवारलाई खानेपानी व्यवस्था गर्न योजना सुरु भए पनि समयमा सकिएको छैन । योजना सम्पन्न हुन नसक्दा जनताले भने २र३ घन्टा टाढा पुगेर पिउने पानीको खोजी गर्नुपर्ने बाध्यता रहेको काफलबुटाकी उपभोक्ता सरस्वती खत्रीले बताउनुभयो ।

नाम मात्रको उपभोक्ता समिति हुने योजनामा सबै बोलवाला भने निर्माण व्यवसायी र कर्मचारीको हुनेगर्छ । उपभोक्ताले २० प्रतिशत श्रमदान गर्नेबाहेक अन्य कुनै भूमिका नहुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष गौतमले बताउभयो । सामान खरिद, निर्माणका काम उपभोक्ताले गर्न नपाउने र बजेट समेत नहुँदा योजना अलपत्र पर्ने गरेका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी मातृकाप्रसाद गौतमले सम्पन्न हुनुपर्ने योजना जिल्लामा ६५ भन्दा बढी रहेको बताउनुभयो । लामो समयदेखि बजेट न्यून भएकै कारण ती पूरा हुन नसकेको उहाँले बताउनुभयो । ‘योजना इस्टिमेट गरेर स्वीकृतिका लागि पठाइन्छ, बजेट अत्यन्तै न्यून पठाउँदा समयमा सम्पन्न हुन सकेका छैनन् ।’ उहाँले भन्नुभयो ।

धेरै योजना सुरु गर्ने, हरेक वर्ष थप गर्दै जाने र विगतका अपुरा योजना पूरा नगर्दा समस्या बढै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जिल्लाका प्रायः सबै डाँडाबस्तीमा हिउँदको समयमा खानेपानीको समस्या हुन्छ । चालु योजनालाई पर्याप्त बजेट दिने हो भने समयमा पूरा हुन सक्थे । जनताले पनि घरदैलोमा पिउने पानीको सुविधा पाउने सूचना अधिकारी गौतमले बताउनुभयो । पाल्पाका ८२ प्रतिशत जनताले पिउने पानी पाएको तथ्यांक डिभिजन खानेपानी कार्यालयले सार्वजनिक गरे पनि वर्षको ६ महिनाभन्दा बढी सुविधा सम्पन्न योजनाका उपभोक्ताले समेत पाउँदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार