खुला दिसामुक्त अभियान : ताप्के तातिंदाको परिणाम

लिखिता बराल

खुला दिसामुक्त घोषणा अभियानको नारा झनै बुलन्द भएर आएको छ । खुला दिसामुक्त घोषणाको नारा मन नपराउनेहरुलाई पनि अहिले खुला दिसामुुक्त अभियानले छोएको छ । गाउँ, शहर, हिमाल पहाड, तराई जताततै खुला दिसामुक्त घोषणा अभियानको नारा गुञ्जिएको छ ।

 यदि यो कुरालाई राजनीतिक नेतृत्वले नबुझ्ने हो भने नेपाल दौडको नेतृत्वकर्ता हुन सक्छ तर बिजयी हुन सक्दैन । त्यसले यो तथ्यलाई मनन गरी भारतले खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु अघि नै जसरी भएपनि खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्नुपर्छ ।

नेपालीमा एउटा उखान छ । ताप्के नतातिएसम्म बीड मात्र तातिएर काम छैन । खुला दिसामुक्त अभियान अहिले यही अवस्थामा आईपुगेको छ । अर्थात विगतमा बीड मात्र तातिएको खुला दिसामुक्त अभियानमा अहिले ताप्के पनि तातिन थालेको छ । ताप्के तातिएपछि नै सारा देश खुला दिसामुक्त अभियानमय भएको हो ।

सरसफाइ अभियानको सर्वोच्च निकाय राष्ट्रिय निर्देशन समितिको अकर्मण्यताका कारण विगतमा सरसफाइ क्षेत्र जति नै तातिए पनि राजनीतिक तथा प्रशासनिक संयन्त्रले ऐक्यबद्धता जनाउन सकेको थिएन । फलस्वरुप आफैले तय गरेको खुला दिसामुक्त जिल्ला घोषणाको लक्ष्य समेत बेला बेलामा फेरबदल गर्दै सरसफाइ अभियान सञ्चालन भईरह्यो । एकदमै धीमा गतिमा ।

राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सम्बन्धीत मन्त्रालयहरु, दातृनिकायहरु, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग राष्ट्रिय कार्यक्रम तथा बजेट तर्जुमा गर्न समन्वय गर्ने, क्षेत्रगत नीति, योजना, रणनीति तथा बजेटहरुको समीक्षा गर्ने, सरसफाइ गुरुयोजनाको कार्यान्वयन र क्षेत्रगत क्रियाकलापहरुको प्रभावकारीताको लागि आवश्यक निर्देशन, सल्लाह तथा मार्ग निर्देशन गर्ने, सरसफाइ सम्बन्धी राष्ट्रियस्तरका प्रमुख सवालहरुको निराकरण गर्न नेतृत्व प्रदान गर्ने, क्षेत्रगत प्रभावकारिताको लागि राष्ट्रिय सरसफाइ समन्वय समितिलाई आवश्यक मार्ग निर्देशन गर्ने, आवश्यक क्षेत्रगत दस्तावेजहरुलाई पारित गर्न सहजिकरण गरी स्वीकृत गर्ने जिम्मेवारी पाएको निर्देशन समिति नै मस्त निद्रामा परेपछि उच्च तहबाट जुन मार्गदर्शन हुनुपर्ने हो त्यो नभएकै हो ।

जब निर्देशन समितिको बैठक बसी देशलाई असोज १३ अगावै खुला दिसामुक्त घोषणा गर्नुपर्छ भन्ने परिपत्र भयो, त्यसपछि भने खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाहरुले धमाधम लक्ष्य निर्धारण गर्दै उक्त लक्ष्य प्राप्तिका लागि घाम, पानी, झरी बादल र दिन रात नभनी खटिरहेको छ ।

सरसफाइको मोर्चामा सधैं पछाडि पर्ने बारा समेत तातिएर खुला दिसामुक्त घोषणा गर्न बाँकी अन्य जिल्लासँगै प्रतिस्पर्धामा उत्रिएको छ । राष्ट्रिय सरसफाइ निर्देशन समितिको परिपत्र पछि सरसफाइमा अति कमजोर जिल्ला भनेर हेपाई खेप्नुपरेका जिल्लाहरु नै बढी तातिएका छन् । बरु धेरै समय पहिले नै सरसफाइमा शत प्रतिशत लक्ष्य पूरा गरेको सोलुखुम्बु तथा भोजपुर जस्ता जिल्लाले खुला दिसामुक्त घोषणाको मिति तय गरेका छैनन् ।

दौडको मैदानमा सिंगो दौडको नेतृत्व गर्ने तर दौड पूरा गर्ने बेला पछाडिका व्यक्तिले उछिन्यो भने दौडको नेतृत्व मात्र गर्नुले कुनै अर्थ राख्दैन । बेलैमा बुद्धि नपु्याए दक्षिण एसियाली राष्ट्रहरुमा चलिरहेको सरसफाइ अभियानमा नेपालको हैसियत पनि ठीक यस्तै हुनेवाला निश्चित छ ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत नेपालले सरसफाइको माध्यमबाट खानेपानी तथा सरसफाइजन्य रोगहरुमा उल्लेख्य कमी ल्याएको चर्चा भईरहेको छ । छोटो समयमा खानेपानी र सरसफाइमा उल्लेख्य सुधार ल्याउने राष्ट्रहरुमा नेपालको नाम अग्र पंक्तिमा छ । छिमेकी राष्ट्र भारत सामु सरसफाइमा नेपालले प्राप्त गरेको उपलब्धी अतुलनीय छ । भारतमा चर्पी निर्माणका लागि अनुदान प्रदान गर्दा समेत नबनेको चर्पी नेपालमा स्वतःस्फूर्त रुपमा अनुदान बिनै निर्माण भईरहेको छ र चर्पीमा अनुदान दिन सरसफाइ गुरुयोजनाले पनि बन्देज लगाएको छ ।

सरसफाइमा नेपाल भारत भन्दा कयौं गुणा अगाडि भएपनि उसले विश्व समुदायको ध्यान खिच्न नेपाल भन्दा अगाडि नै खुला दिसामुुक्त राष्ट्र भारत घोषणा गर्ने दाउमा छ । यदि यो कुरालाई राजनीतिक नेतृत्वले नबुझ्ने हो भने नेपाल दौडको नेतृत्वकर्ता हुन सक्छ तर बिजयी हुन सक्दैन । त्यसले यो तथ्यलाई मनन गरी भारतले खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु अघि नै जसरी भएपनि खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्नुपर्छ ।

सरसफाइको क्षेत्रमा फड्को मारेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा छर्न सफल भएको राष्ट्र नेपालले यो अवसरको भरपुर उपयोग गर्नैपर्छ । खुला दिसामुक्त घोषणा गर्दा बेइज्जत हुन्छ भन्ने सोच्ने बिद्धत वर्गले अब सोच्न आवश्यक छ, खुला दिसामुक्त घोषणा नगर्दा चाहिं इज्जत बढ्छ ?

त्यसैले दुई चार वटा घरमा चर्पी नबनेको बिषयले जिल्लालाई खुलादिसामुक्त घोषणा गर्न रोकिनुहुन्न । खुला दिसामुक्त घोषणा गर्न जिल्लाले दुई चार दिन ढिलाई गरेर राष्ट्रिय लक्ष्यमा ठेस पु्याउनुहुन्न ।

सरसफाइ गुरुयोजना २०६८ ले लिएको लक्ष्य अनुसार नै २०१७ मै देशलाई खुला दिसामुक्त घोषणा गर्न सकेको भए नेपालले पूर्ण सरसफाइको यात्रा सुरु गरेको २ बर्ष भईसक्ने थियो । अब पनि मस्त निद्रामा रह्यौं भने हामीलाई व्युझाउन कोही आउने छैन । त्यसैले राष्ट्रिय लक्ष्य हासिल गर्न २/४ घरमा शौचालय बन्दैनन् भने बन्दैनन् त्यसलाई पूर्ण सरसफाइको यात्रामा सम्बोधन गर्नुपर्छ ।

त्यसैले खुला दिसामुक्त घोषणा भएको पहिलो राष्ट्र बन्ने अवसरलाई नछुटाऔं । यो अवसरलाई पनि हामीले उपयोग गर्न सकेनौं भने इतिहासले क्षमा दिने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार