प्रशोधित पानीमै दिशामा पाइने जीवाणु फेला

विराटनगर : विराटनगर – ७ मा रहेको ॐ जेके पानी उद्योगले प्रशोधन गरेको पानीमा मान्छेको दिसामा पाइने ‘कोलिफर्म’ जीवाणु रहेको पुष्टि भएको छ। उद्योगले बिक्रीका लागि बजारमा लैजान तयारी गरेको पानीमै मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने ‘कोलिफर्म’ भेटिएको हो। प्रशोधित ‘एच टु’ ब्राण्डको पानीमा ‘कोलिफर्म’ भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयको अनुगमनमा शौचालयको सेफ्टी ट्यांक सँगै जोडर उद्योगको बोरिङ मेसिन राखेको फेला परेको थियो। त्यस लगत्तै उद्योगलाई उत्पादन र बिक्रीमा रोक लगाएर पानीको नमुना संकलन गर्दै कार्यालयले ल्याब परीक्षणका लागि लगेको थियो। परीक्षण रिपोर्टका बारेमा जानकारी दिँदै कार्यालयका प्रमुख प्रमोद कोइरालाले प्रशोधित पानीमा मानिसको स्वास्थ्यका लागि असर गर्ने ‘कोलिफर्म’ जीवाणु भेटिएको पुष्टि भएको बताउनुभयो ।

‘अनुगमनका क्रममा सेफ्टी ट्यांकीसँग जोडेर बोरिङ मेसिन राखेको पाइएपछि पानी उत्पादन र बिक्रीमा रोक लगाइएको थियो,’ उहाँले भन्नुभयो ‘‘पानीको नमुना परीक्षण गर्दा घातक जीवाणु ‘कोलिफर्म’ नै भेटियो।’

प्रशोधित पानीमा ‘कोलिफर्म’ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्दै आएको छ। उद्योगका सञ्चालकहरूको बयान लिने काम कार्यालयले सकेपछि प्रक्रियागत रुपमा प्रशासनमा मुद्दा दर्ता गरिने कोइरालाले बताउनुभयो ।

उक्त मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना अथवा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

जेके पानी उद्योग जितेन्द्रकुमार यादव, ओमप्रकास राउत र कौशलन्द्रकुमार कर्णले संयुक्त रुपमा सञ्चालन गरेका हुन्। उक्त उद्योगमा अनुगमन गर्दा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधान अनुसार उद्योग सञ्चालन नभएको, प्रवेशद्वार नजिक हात धुने बेसन नभएको, जार धुने ठाउँ खुल्ला ठाउँमा रहेको फेला परेको थियो।

प्रमुख कोइरालाका अनुसार उद्योगबाट दैनिक तीन हजार लिटर पानी प्रशोधन भएर बिक्रीका लागि बजारमा पठाउने गरिएको छ । कोसी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन रोशन खड्काले मान्छेको दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ मिसिएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार