प्याड वितरणको जिम्मा स्थानीय तहलाई दिनु भद्रगोल निम्त्याउनु हो : पोख्रेल

 

काठमाडौ : नेपाल सिआरएस कम्पनीका म्यानेजिङ डाईरेक्टर जीवलाल पोख्रेलले सेनेटरी प्याड वितरणको जिम्मा स्थानीय तहलाई दिईदा यसले भद्रगोल निम्तिने बताउनुभएको छ । देशका दुर्गम जिल्लाका स्थानीय तहहरु आफैले प्याड किनेर वितरण गर्न सक्ने अवस्थाको नभएको र प्याड वितरणको जिम्मेवारी नै स्थानीय तहलाई दिईदा भद्रगोल हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय महिनावारी सञ्जालको बैठकमा उहाँले भन्नुभयो ‘गाउँपालिकाले सेनेटरी प्याड कहाँबाट आपूर्ति गर्छ ? जैविक प्याड हो भन्ने सुनिश्चितता कसरी गर्ने, कसले गर्ने ? यसकारण स्थानीय तहले प्याड वितरण गर्नु त्यत्ति सजिलो देख्दिन म ।’

वितरण भन्दा यसको प्रयोग पछिको व्यवस्थापन अझ चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । बालिकाहरुले प्रयोग गरेपछि कहाँ कसरी विसर्जन गर्ने ? यो झनै महत्वपूर्ण पाटो हो, स्कुलबाट घर फर्किदा फर्किदै जंगलमै निकालेर फ्याँदियो, सबै स्कुलमा सेनेटरी प्याड फेर्ने सुविधायुक्त शौचालय छैन, कहाँ कसरी फेर्ने, लगाउने ? यो धेरै चुनौतीपूर्ण छ ।’ उहाँले भन्नुभयो ।

राष्ट्रिय महिनावारी सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठले भने सेनेटरी प्याड वितरण सँगै यसको सुरक्षित विसर्जन सम्बन्धी चेतनामूलक कार्यक्रमहरु सँगसँगै लैजानुपर्ने बताउनुभयो । यसो नगर्दा जथाभावी विसर्जन गर्ने सम्भावना धेरै हुने र यसले वातावरणमा नकारात्मक असर पार्ने भएकाले यसको सुरक्षित विसर्जनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

उहाँले राष्ट्रिय महिनावारी सञ्जालका सदस्यहरु मध्ये कतिपय संस्थाले यस्तै काम गर्दै आएको भए अब तत्काल छात्राहरुलाई सेनेटरी प्याडको सुरक्षित व्यवस्थापन सम्बन्धी काम गर्न पनि आग्रह गर्नुभयो ।

कात्तिक १ देखि अनिवार्य वितरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने सरकारको नीति कार्तिक १ गतेदेखि लागु गर्न सबै स्थानीय तहलाई अनुरोध गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भदौ २९ गते बसेको सचिव स्तरीय बैठकले सेनेटरी प्याड वितरणको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार