सोलुखुम्बु : तपाई सोलुखुम्बुको गोक्यो क्षेत्रमा जाँदै हुनुहुन्छ र नुहाउने वा लुगा धुने सोचमा हुनुहुन्छ भने होश गर्नुहोस् एक हजार जरिवानाको फन्दामा पर्नुहोला ? गोक्यो चो व्यवस्थापन समूहले धार्मिक प्रयोजन बाहेक अन्य समयमा नुहाएमा वा लुगा धोएमा जनही १ हजार जरिवाना गर्ने व्यवस्था गरेको हो ।
गोक्यो र आसपासको तालमा नुहाउने र लुगा धुनेलाई मात्र होइन, गोक्यो चो व्यवस्थापन समूहले निषेधित क्षेत्रमा फोहोरमैला फालेमा प्रथम पटक ५ हजार, दोस्रो पटक १० हजार र तेस्रो पटक २० हजार जरिवानाको व्यवस्था गरेको छ । यस्तै निषेधित क्षेत्रमा कुनै पनि प्रयोजनका लागि आगो बालेमा ५ हजार, समूहले तोकेको क्षेत्र बाहेक अन्य निषेधित क्षेत्रमा क्याम्पिङ गरेमा प्रतिव्यक्ति वा समूहलाई प्रथम पटक १० हजार, दोस्रो पटक १५ हजार र तेस्रो पटक २० हजार तथा अवैध रुपमा जडीबुटी संकलन गरेमा प्रतिव्यक्ति १० हजार जरिवाना र धार्मिक प्रयोजनमा बाहेक धूपी वा सुनपाती संकलन गरी प्रयोग गरेको भेटिएमा प्रति व्यक्ति २ हजार जरिवाना तिराउने व्यवस्थापन गरेको छ ।
व्यवस्थापन समूहले निषेधित क्षेत्रमा नुहाउने, कपडा धुने, क्याम्पिङ गर्ने, धुपी संकलन गर्ने, आगो बाल्ने कार्यलाई सिमसार क्षेत्र व्यवस्थापन योजना तथा निर्देशिका २०६५ बमोजिम गैरकानुनी ठहर्ने जनाएको छ ।
गोक्यो चो व्यवस्थापन समूहले सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नाम्चेको समन्वयमा गोक्यो र वरपरका तालमा पौडी, डुंगासयर, र्यफ्टिङ, कायकिङ गर्न समेत निषेध गरेको छ ।
रामसार क्षेत्रमा रहेको वन, वन्यजन्तु लगायत सम्पूर्ण जैविक विविधता र वातावरणको संरक्षण, संवद्र्धन तथा दिगो व्यवस्थापनका लागि ती क्रियाकलापहरुमा बन्देज लगाएको गोक्यो चो व्यवस्थापन समूहले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने गोक्यो क्षेत्रलाई २०६४ असोज ६ गते रामसार सूचीमा सूचीकृत गरिएको थियो ।
व्यवस्थापन समूहका अनुसार पूर्वमा ङोजुम्बा हिमनदीसँग जोडिएको थाकनाक गाउँको शिरानसम्म, पश्चिममा ङोजुम्बा हिमनदी माथि रहेको केजुम्बा (छैंटौं ताल) शिरानसम्म, उक्त नियम लागु हुनेछ । यस्तै उत्तरमा ङोजुम्बा हिमनदी तथा तालको शिरसम्म र दक्षिणमा ङोजुम्बा हिमनदी तथा गोक्यो ताल मिसिएको दोभान हुँदै फाङ्गा र नालासम्म सीमा तोकिएको समूहले जनाएको छ ।