
महोत्तरी : महोत्तरीलाई खुला दिसामुक्त घोषणा गरेको एक महिना हुनै लागिसक्यो । तर भदौ ३१ गते खुला दिसामुक्त घोषणा भएको महोत्तरीको सयौं घर अझै शौचालय विहीन छ । जलेश्वर नगरपालिका–९ परिकौलीका वडाध्यक्ष रवीन्द्र यादवका अनुसार वडा नं. ९ मा मात्र अझै तीन सय भन्दा बढी घरमा शौचालय बनाउन बाँकी छ । ‘सबै ठाउँ धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा हुन थालेपछि किन बाधक बन्नु भनेर हतारमा कागजी प्रक्रिया पूरा गरेको वडाध्यक्ष यादवले बताउनुभयो । उहाँले शौचालय नभएका घरपरिवारले अझै खुला ठाउँमै दिसापिसाब गर्ने गरेको बताउनुभयो ।
व्यक्तिको घरमा मात्र होइन, महोत्तरीका करिब पाँच प्रतिशत विद्यालयमा समेत अझै शौचालय बनेको छैन । ‘जिल्लाभरिका पाँच प्रतिशत विद्यालयमा अझै शौचालय नभएको शिक्षा समन्वय एकाइका निमित्त प्रमुख अरुण शंकर पाठकले जानकारी दिनुभयो । शौचालय अभावमा बालबालिका खुला ठाउँमा शौच गर्न बाध्य छन् ।
महोत्तरी सदरमुकाम जलेश्वरको सयौं घरमा शौचालय नभएपनि तथ्याङ्कमा भने महोत्तरीको एक लाख ११ हजार ३४ घरमै शौचालय बनेको जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले महोत्तरीले तयार पारेको तथ्यांकले शौचालय बनाउन बाँकी घर कुनै पनि देखाएको छैन ।
खुला दिसामुक्त घोषणा बाध्यताको उपज भएको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताउनुभयो । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भने ख केही कमीकमजोरी भए पनि खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमले सरसफाइमा चेतना फैलाएको बताउनुभयो । शौचालय नभएका घरमा शौचालय निर्माणका लागि पहल गर्नुपर्ने र खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई नकारात्मक रूपमा लिन नहुने मेयर मण्डलले बताउनुभयो ।


899 पटक हेरिएको 

