
बुटवल : रूपन्देहीको सैनामैना नगरपालिकाले ढलको पानी प्रशोधन गरी पुनः प्रयोग गर्न थालेको छ । घरबाट सडकमा बग्ने र खोलामा मिसिने फोहोर पानीलाई एकै ठाउँमा जम्मा गरेर प्रशोधन गरेको पानी लुगा धुन, जनावरलाई खुवाउन र सिंचाइ गर्न प्रयोग गर्न थालिएको छ ।
पानीको पुनस् प्रयोग बढाउन र प्रदूषण रोक्न ढल प्रशोधन केन्द्र निर्माण गरी फोहोर पानीलाई प्रशोधन गर्न थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । । ‘बजारीकरण हुँदै जाँदा एकातिर पानीको अभाव हुने र अर्कोतर्फ घरबाट निस्कने फोहोर पानी व्यवस्थापन जटिल बन्दै गएकाले ‘दुवै समस्या व्यवस्थापन हुने गरी ढल प्रशोधन केन्द्र बनाएको उहाँले बताउनुभयो । ढलको उचित व्यवस्थापन र फोहोर पानी प्रशोधनले बजार क्षेत्र र खोला सफासुग्घर हुने प्रमुख कार्कीको भनाइ छ ।
गत वर्षदेखि सैनामैना–३ का करिब ६ सय घरधुरीको ढलको पानी प्रशोधनको काम गरिएको छ । प्रशोधित पानी मानिसले पिउन र खाना पकाउन बाहेक अन्य सबै काममा उपयोग गरिएको मुर्गियाकी उपभोक्ता कमला शर्माले बताउनुभयो ।
सैनामैना नगरपालिकाले घमाहा खोला किनारको अस्नैया डाँडामा पनि ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । चालु आर्थिक वर्षबाट सैनामैना–४ का ५ सयभन्दा बढी घरधुरीको ढलको पानी समेत प्रशोधन गर्न सुरु गरिनेछ । करिब पाँच कट्ठा क्षेत्रफलमा फैलिएको केन्द्रमा पानी संकलन, प्रशोधन र वितरणका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् ।
घरको फोहोर पानी ल्याउन करिब ३ हजार ७ सय मिटर लम्बाइको ढल निर्माण गरिएको छ । ढलबाट आएको पानी सुरुवातमा फिल्टर हुनेछ । त्यसबाट ठोस पदार्थ थिग्रिएर पानी मात्रै जम्मा हुनेछ । दोस्रो चरणमा पानी प्रशोधित हुनेछ । प्रशोधित पानी जम्मा गर्न १ लाख ७० हजार लिटर क्षमताको ट्यांकी बनाइएको छ । प्रशोधित पानी घमाह खोलामा पठाइनेछ ।
संघीय सरकारको खानेपानी तथा ढल निकास विभागद्वारा ढल प्रशोधन केन्द्र आयोजना सञ्चालन भएको हो । ३ करोड ५५ लाख रुपैयाँ लागतको ढल प्रशोधन केन्द्र निर्माणको ठेक्का सुपेरियर निर्माण सेवाले लिएको छ । निर्माणको काम गत वर्षको जेठबाट सुरु भएको हो । अहिले करिब ८० प्रतिशत काम सकिएको ठेकेदार कम्पनीका सुपरभाइजर तुलसीप्रसाद वाग्लेले बताउनुभयो । ‘ढलको फोहोर पानीलाई प्रदूषण रहित बनाउने र सिँचाइका लागि पठाउने मुख्य उद्देश्य रहेको वाग्लेले बताउनुभयो ।


1075 पटक हेरिएको 

