क्यानेडियन राजदुतद्वारा एयरोसन हब शौचालयको अवलोकन

 

काठमाडौ : नेपालका लागि क्यानेडियन उप राजदूत Deirdre Kent ले रत्नपार्क स्थित बीर अस्पताल अघिल्तिरको एयरोसन हब (AEROSAN Hub) सार्वजनिक शौचालयको अवलोकन गर्नुभएको छ । उप राजदूत Kent ले महिलामैत्री, अपाङ्गतामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान AEROSAN का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले शौचालयको सबै संरचनाको बारेमा जानकारी गराउनुभएको थियो ।

उप राजदूत Kent ले मानवमल मूत्रबाट ग्यास निकालेर प्रयोग गरिएको प्रविधिलाई गहिरिएर अध्ययन गर्नुभयो । यस्तै महिलामैत्री शौचालय देखेर उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले शौचालयलाई सुरक्षित, सरसफाइ र सबैका लागि पहुँचयोग्य बनाउनका लागि गरिएका प्रयासको प्रशंसा गर्दै भन्नुभयो ‘काठमाडौं जस्तो ठूलो जनसंख्या भएको शहरहरूमा यस किसिमका सुविधाहरू हुनु आफैमा ठूलो कुरा हो । हामी एयरोसन र काठमाडौं महानगरपालिकाले गरेको काम र सार्वजनिक शौचालयको अवस्था सुधार गर्न गरिएको प्रयासको सराहना गर्छौ ।’ उहाँले शौचालय महिला र अशक्त प्रयोगकर्ताहरूका लागि सुरक्षित र सुलव बनाएकोमा पनि खुसी लागेको बताउनुभयो ।

‘महिलालाई सार्वजनिक शौचालयमा दिसापिसाब गर्न, स्यानिटरी प्याड फेर्न धेरै गाह्रो हुन्छ, तर यहाँ महिलाले पनि ढुक्क भएर प्रयोग गर्न सक्ने अवस्था देखें, महिलाहरुले सार्वजनिक शौचालयमा पनि इज्जतका साथ प्रयोग गर्न सक्ने अवस्थाबाट म निक्कै हर्षित छु ।’

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठले भने विभागले नेपालमा सार्वजनिक शौचालयको अवस्था सुधार गर्न योजना र नीतिमा काम गरिरहेको बताउनुभयो । ‘सार्वजनिक शौचालय सुधार गर्न क्यानडाको डेपुटी हाई कमिश्नरको चासो देखेर शहरको सार्वजनिक सरसफाइ सेवालाई बढावा दिने प्रेरणा थपिएको छ ।’ उहाँले भन्नुभयो ।

वीर अस्पताल अघिल्तिर निर्माण गरिएको सार्वजनिक शौचालय केही बर्ष अघि एयरोसन र गुथिको आर्थिक तथा प्राविधिक सहयोगमा सुधार गरिएको हो । कुनै समय लागुपदार्थको दुर्व्यसनीमा फसेका मानिसहरुको आश्रय स्थल बनेको यो शौचालयमा अहिले बायोग्याँस जडान गरिएको छ ।

 

महिलामैत्री शौचालयमा स्यानिटरी प्याड फेर्ने र विसर्जन गर्ने व्यवस्था मिलाएको छ भने अपांगता भएकाका लागि बेग्लै शौचालयको व्यवस्था गरिएको छ । शौचालयमा सेन्सर लाइटको व्यवस्था गरिएको छ भने छानोमा भेन्टिलेसनको समेत व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार