दोलखा : नदी प्रदुषित हुने गरी फालिएको औषधिजन्य फोहोर सिंगटीको निजी अस्पताल र फार्मेसी सञ्चालकले नै सफाइ गरेका छन् । अस्पताल सञ्चालक र फार्मेसी सञ्चालकले जथाभावी फालेको फोहोरले नदी प्रदुषित भएपछि स्थानीयबासीले औषधिजन्य फोहोर टिप्न लगाएका हुन् ।
सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्कने सुई, ग्लोब्स, प्याड, स्लाइन पानीका बोतलजस्ता औषधिजन्य फोहोर भेटिएको खबर वास खबर सहित केही अनलाइन मिडियाले समाचार प्रकाशन गरेको थियो ।
नदीमा फालिएका सबै औषधिजन्य फोहोर सिंगटीमै रहेका अस्पताल र फार्मेसीले फालिएकाले उनीहरूलाई नै सरसफाइ गर्न लगाइएको सामाजिक अभियन्ता प्रकाश केसीले जानकारी दिनुभयो । पहिलो चरणमा फोहोर टिपाइएको र पुनः जथाभावी फोहोर फाल्ने र वातावरण प्रदूषण गरे उनीहरूलाई कानुनी कारबाही र सामाजिक बहिस्कार समेत गर्ने चेतावनी दिएका उहाँले बताउनुभयो ।
नदी किनारका औषधिजन्य फोहोर टिपेपछि समग्र बजार सरसफाइ गरिएको सिंगटी उद्योग वाणिज्य संघका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो । सिंगटीको विगू गाउँपालिका–४ मा सिद्धार्थ फार्मेसी र खोलीखिममा अर्को एक गरी २ वटा फार्मेसी छन् । त्यस्तै कालिञ्चोक गाउँपालिका–३ मा रोल्वालिङ सामुदायिक अस्पताल, जीवन फार्मेसी सञ्चालन भईरहेको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले औषधिजन्य फोहोर सोझै नदीमा फाल्ने फार्मेसी वा अस्पतालको पहिचान गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन स्थानीय प्रहरी चौकीलाई निर्देशन दिएको बताउनुभयो ।