सार्वजनिक शौचालयको संख्या र सुविधा बढाउनुपर्नेमा जोड

 

काठमाडौ : काठमाडौ उपत्यकामा बसोबास गर्ने जनसंख्याको तुलनामा सार्वजनिक शौचालयको संख्या अति कम भएकाले यसको संख्या र सुविधा बढाउनुपर्नेमा जोड दिईएको छ । सातौं विश्व चर्पी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका वक्ताहरुले काठमाडौ महानगरपालिकाले शौचालय निर्माणमा तीब्रता दिनुपर्ने र भएका शौचालय स्रोत साधनले सुविधा सम्पन्न बनाईनुपर्ने बताएका हुन् ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट हुँदै न्यूरोड गेटबाट प्रवेश गरी बसन्तपुरमा पुगेपछि आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौ महानगरपालिकाभित्रको सार्वजनिक शौचालयको समस्या हल गर्नका लागि चर्पीको निर्माणको काम सुरुवात भईसकेको बताउनुभयो । उहाँले भिजिट नेपाल इयरसँग मिलेर केही इ –शौचालय र पक्की संरचना सहितको चर्पी निर्माण गरिने बताउनुभयो । ‘सकेसम्म निशुल्क वा थोरै शुल्क लिएर सार्वजनिक शौचालय प्रयोग गर्न दिईने विषयमा महानगपालिकाको वातावरण विभागसँग कुराकानी भईरहेको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा वाटर एडकी कन्ट्री डाइरेक्टर तृप्ति राईले सबैको सहकार्यबाट देश नै खुला दिसामुक्त घोषणा हुनु गौरवको बिषय भएकाले अब यसको सुरक्षित प्रयोग, नियमित सफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक शौचालयको रेखदेख तथा सरसफाइ गर्ने व्यक्तिको गरिमा बढाउन र सामाजिक सुरक्षाको सवालमा समेत सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयको अपर्याप्तता र वाग्मतीमा सीधै ढल मिसाउने समस्या रहेकाले यसको समाधानको उपाय खोजिनुपर्ने बताउनुभयो ।

काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले शहरी योजना आयोगसँगको छलफल पछि काठमाडौ उपत्यकामा ४५ वटा सार्वजनिक शौचालय थप गर्नुपर्ने निष्कर्षमा पुगी निर्माणको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले हिजो मात्रै स्वयम्भूमा शौचालय निर्माणको काम सुरु भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभा सांसद जीवनराम श्रेष्ठले सभ्यताको चिनारी दिने भनेकै सरसफाइ भएकाले सहरमा आवश्यकता अनुसार शौचालय बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘प्रतिनिधिसभा सदस्यको हैसियले सहरमा समय सुहाउँदो स्मार्ट एवं व्यवस्थित शौचालय कसरी बनाउने बिषयमा छलफल भईरहेको छ’ उहाँले भन्नुभयो ‘अर्को बर्षको शौचालय दिवस मनाउने बेला बर्षदिनमा यत्ति वटा शौचालय निर्माण गर्न सफल भयौं भन्ने प्रतिवेदन पेश गर्नु पाऊँ ।’

 

कार्यक्रमको समापन गर्दै पूर्व वातावरणमन्त्री गणेश शाहले अबको केही बर्षभित्र एप्सको माध्यमबाट सार्वजनिक शौचालय पत्ता लगाएर दिसापिसाब गर्नुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले विश्वव्यापी सरसफाइको बिषय नेपालको विश्वविद्यालयमा समेत पठनपाठन हुन थालेकाले अवसरको सदुपयोग गर्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सफाइ कर्मचारीहरुलाई सांसद जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह लगायतले सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार