शौचालय दिवस : बिद्यालयमा सरसफाइ, नगरपालिकामा ध्यानाकर्षण

 

भीष्म लोध, बाँके : ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस’ भन्ने मुल नाराका साथ मंगलबार बाँकेमा पनि विश्व शौचालय दिवस मनाइएको छ । दिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकाका बिद्यालयमा सरसफाइ कार्यक्रम तथा नेपालगञ्ज उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जोगागाउँ र वडा नं.–६ गनापुरस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भाटनपुर्वामा बिद्यालय हाताभित्र सरसफाइ गरिएको हो भने नेपालगञ्ज उपमहानगरपालिकामा भित्र रहेका सार्वजनिक शौचालयको सरसफाइ र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने माग गर्दै स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।

बिद्यालयमा रहेको बाल क्लब तथा महिनावारी व्यवस्थापन समूहको नेतृत्व, स्थानीय तहको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपाल बाँकेको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँके मार्फत सरसफाइ कार्यक्रम गरिएको हो । सरसफाइ कार्यक्रममा बिश्व शौचालय दिवसको महत्व, हालसम्म बिश्वभरि शौचालयको प्रयोग र अवस्थाबारे जानकारी प्रदान गरिएको थियो भने शौचालय, बिद्यालय हाता र वरिपरिको सरसफाइ गरिएको गेरुवाका सुपरभाईजर बिराउन शेषले जानकारी दिनुभयो ।

यस्तै दिवसको अवसरमा नेपालगञ्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको अगुवाईमा अधिकारकर्मीहरुको एक समुहले सार्वजनिक शौचालयको सुधार माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्रमा नेपालगञ्ज नगरभित्रका सार्वजनिक शौचालयहरुको सरसफाइ र निःशुल्क व्यवस्था, नगर बसमा जेष्ठ नागरिक, अपाङता भएका, बालबालिका तथा विद्यार्थीका लागि छुट्टै सिट तथा छुटको व्यवस्था गर्नुपर्ने, सार्वजनिक स्थलमा धुम्रपानको अन्त्य गर्नुपर्ने जस्ता मागहरु गरिएको छ ।

शौचालय अनि यसको महत्वलाई सबैसामु उजागर गर्दै हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा संसारका हरेक मानिसलाई सरसफाइका श्रोत र सुविधाका साथ खेर जाने पानीलाई पूनः प्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य छ । शौचालयको प्रयोगपछि नछुटाई गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुन चिकित्सकहरुको सुझाव छ । अझै पनि संसारभर लगभग अढाई अर्ब मानिसहरु शौचालयको प्रयोग गर्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार