सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार थान स्यानिटरी प्याड वितरण गरेको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयमा गाउँपालिकाले साढे १० हजार थान स्यानिटरी प्याड वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले गत वर्षदेखि स्यानिटरी प्याडको साथै विद्यालयमा छात्रा विश्राम कक्षको समेत व्यवस्था गरिदिएको छ ।
छात्राहरुको विद्यालय अनुपस्थित हुने दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी भएपछि विद्यालयको आवश्यकता अनुसार प्याड वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको लागि गाउँपालिकाले हरेक माध्यमिक विद्यालयमा एक हजार चार सय थानका दरले प्याड वितरण गरिएको दाहालले जानकारी दिनुभयो । गत आर्थिक वर्ष एक विद्यालय बराबर सात सयको दरले तीन हजार पाँच सय प्याड वितरण गरिएको थियो ।
सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केही असजिलो मानेपनि हिजो आज महिनावारी भएको समयमा छात्राहरु खुलेर कुरा गर्न सक्ने भएका छन् । प्याड चाहिएको बेला प्याड माग्ने गरेको विरेन्द्र माध्यमिक विद्यालय गर्पाका प्रधानाध्यापक डिल बहादुर नेपालीले जानकारी दिनुभयो । ‘महिला शिक्षक नभएको बेला सरहरुसँग पनि छात्राहरुले प्याड माग्ने गरेका छन्’ उहाँले भन्नुभयो ।
प्याड वितरणसँगै निर्माणमा जोड दिनुपर्ने
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका निमित्त प्रधानाध्यापक दामोदर शर्माले स्थानीय सरकारले निःशुल्क प्याड वितरण सँगै प्याड निर्माण सम्बन्धी सीप पनि सिकाउनुपर्ने बताउनुभयो । ‘विद्यालयमा उपलब्ध गराइएको स्यानिटरी प्याड स्कुल आउँदा समस्या भएमा प्रयोग गर्ने हो, छात्राहरु घर बस्दा गाउँमा प्याड उपलब्ध नहुन सक्छ । यस्तो अवस्थामा किशोरीहरुलाई प्याड निर्माण गर्न पनि सिकाउनुपर्छ, यो नै दिगो उपाय हो’ उहाँले भन्नुभयो ।
गाउँपालिकामा आयोजित प्याड वितरण कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मीन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगायतले विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा प्याड वितरण कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्नुभयो । महिनावारी र त्यो बेला गर्नुपर्ने सरसफाइ र स्वच्छताका लागि अझ धेरै काम गर्नुपर्ने सिनियर अ.हे.व देवेन्द्र कुमार सेनले बताउनुभयो ।
प्याड प्रयोग गरेपछि सुरक्षित विसर्जन गर्ने स्थान नहुँदासम्म यो कार्यक्रम त्यत्ति प्रभावकारी हुन नसक्ने भएकाले सम्बन्धित विद्यालयहरुलाई व्यवस्थापनको पाटोमा काम गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
यस्तै कालिका मावि कपुरकोटका प्रधानाध्यापक चुडामणि केसीले आधारभुत तहका विद्यालयमा अध्ययन गर्ने कक्षा ६, ७ र ८ का छात्राहरुलाई समेत प्याड उपलब्ध गराउनुपर्ने बताउनुभयो ।


924 पटक हेरिएको 

