खानेपानीमन्त्रीको महिनावारी अनुभव : महिनावारी भएको दुई बर्षसम्म पनि आमालाई भनिन (भिडियो)

काठमाडौ : खानेपानीमन्त्री बिना मगरले महिनावारीको समयमा आफूले छुवाछुत भोग्नु नपरेको तर महिनावारीको समयमा गरिने छुवाछुतका कारण महिलामा पर्ने शारीरिक तथा मानसिक समस्याबाट आफू जानकार रहेको बताउनुभएको छ । वाटर एडको आर्थिक सहयोगमा मित्र समाजले गरेको ‘महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि सञ्चार अनुगमन’ को प्रतिवेदन सार्वजनिक कार्यक्रम पछि आयोजित छलफल कार्यक्रममा उहाँले आफ्नो महिनावारी अनुभवबारे बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘मैले सगर्वका साथ भन्नुपर्छ म त्यो घरको मान्छे हुँ, म मगर परिवारमा जन्मेको हुँ, मेरो जातिमा छुवाछुत हुँदैन । म त्यो समाजको चेली हुँ, जहाँ छुवाछुतले ग्रस्त छ । आफ्नै छेउमा सात – सात दिनसम्म महिनावारी बारेको पीडा पनि मैले देखेको छु ।’
उहाँले आफूलाई महिनावारी भएको कुरा दुईबर्षसम्म पनि आमालाई नभनी बसेको बताउनुभयो । ‘तिमीलाई महिनावारी हुँदा चाहिं भन है भन्नुभएको थियो । मैले दुई बर्षसम्म पनि भनिन । सायद म मा भएको विद्रोहत्मक चेतना पनि हो । मैले आमालाई भन्न आवश्यक पनि ठानिन ।’ उहाँले भन्नुभयो ।

उहाँले महिनावारी संस्कार, समाज, धर्म संस्कृति सँग जोडिएको कुरा भएकाले जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ पनि महिनावारी छुवाछुतले स्थान पाएको बताउनुभयो । सरकारले महिनावारी छुवाछुतलाई अन्त्य गर्न नीतिगत व्यवस्था गरेको र सबै सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्ने निर्णय एकदम महत्वपूर्ण भएको उहाँको दाबी थियो ।
‘स्कुलमै महिनावारी प्याड प्राप्त गर्न सक्यो सकेन भन्नु भन्दा पनि सरकारले महिनावारी प्रतिको बुझाईलाई कसरी परिवर्तन ल्याउन खोजिएको छ भन्ने हो ।’ उहाँले भन्नुभयो ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार