ओडिएफको दिगोपनाका लागि क्रियाशील छौं : उपमहानिर्देशक श्रेष्ठ

 250 पटक हेरिएको

 

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले खुला दिसामुक्त घोषणा पश्चात दिगोपनका लागि विभिन्न कार्यक्रमहरु भईरहेको र सरकार यसमा कटिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियामै पहिलो पटक नेपालमा आजदेखि सुरु भएको ‘समावेशी वासका लागि प्रणालीगत सुदृढीकरण सम्बन्धी सिकाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको खानेपानी र सरसफाइको बर्तमान अवस्थाबारे जानकारी गराउनुभयो ।

महिलाका लागि पानी कोष तथा एसएनभीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आधारभूत तहको खानेपानी प्राप्त जनसंख्या ८९ प्रतिशत र सुरक्षित खानेपानी २१ प्रतिशत जनसंख्याको पहुँचमा मात्र उल्लेख भएको जनाउँदै आउँदो दिनमा खानेपानीको सुविधा अपुग भएको जनसंख्यालाई खानेपानीको सहज पहुँच पु¥याउने र दिगो विकास लक्ष्य अनुसार सुधारिएको खानेपानीको उपलब्धता बढाउँदै जाने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रम तीनै तहको सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहसँग धेरै जिम्मेवारी र अधिकार भएपनि दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीको रुपमा रहेको बताउनुभयो ।

उहाँले एसएनभीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०१० देखि नेपालको एक दीर्घकालीन साझेदारको रूपमा काम गरिरहेको भन्दै प्रसंशा गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले आगामी दिनमा समेत विकास साझेदार एवं दातृ राष्ट्रहरुको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

महिलाका लागि पानी कोष परियोजना सञ्चालित दक्षिण एसियाली सात राष्ट्रका साझेदार, अनुसन्धानकर्ता, कोष व्यवस्थापन टीम, अष्ट्रेलिया सरकारका प्रतिनिधिहरू गरी ५० जनाको सहभागिता रहेको छ ।

नेपाल, महिलाका लागि पानी कोषको माध्यमबाट सहयोग प्राप्त गर्ने १५ देशहरु मध्ये एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार