खानेपानीको स्रोत खोज्दै वडाध्यक्ष सहितको टोलीसँगै २ घण्टा ओरालो झर्दा ……

 

काभ्रेपलाञ्चोक : काठमाडौबाट खानेपानीको लागि सर्वेक्षण गर्ने टोली आउँदैछ भन्ने जानकारी पाएपछि पाँचखाल नगरपालिका ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा र महिला सदस्य चित्रकुमारी सापकोटा फूलमाला लिएर स्वागतका लागि बसिरहनु भएको रहेछ । गाडीबाट ओर्लन साथ फूलमालाले स्वागत गरेपछि अब पानीको स्रोत हेर्न जाने कुरा भयो । जीपलाइनबाट ओरालो गुडेको गाडी कतै उकालो उक्लेन बरु २ किलोमिटर तलतिर झरेपछि अगाडि बढ्नै सकेन र हामी त्यहीबाट ओर्लेर जाने भयौं ।

अघि अघि वडाध्यक्ष बालकृष्ण सापकोटा, पछि पछि लाग्यौं हामी । टोलीमा थियौं संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्द बन्जाडे, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सचिवालयबाट नवराज ढकाल र टिकाराम लामा तथा वडा नंं. ५ की महिला सदस्य चित्रकुमारी सापकोटा अनि केही स्थानीय बासिन्दा ।

 

खानेपानीको मुहान हेर्न हिडेको भनेपछि बस्ती भन्दा माथितिरको कुनै मुहानमा लैजानुहोला भन्ने सोचेको थिएँ । तर वडाध्यक्ष सापकोटा ओरालो झरेको झर्‍यै गर्नुभयो । ओरालो लागेको मृग झैं अघि अघि बढेका अध्यक्ष सापकोटा बाटो बिराए झैं बाटो वरपरको घरमा देखिए जत्ति मानिसहरुलाई पनि सोध्न भ्याईहाल्नुहुन्थ्यो ।

चिप्लिएर लडिहाल्यो भने अडिने ठाउँ थिएन । त्यसैले सम्हालिएर हिड्नुपथ्र्यो । सीधै ओरालो, न खुट्टा अड्याउने खुड्किला, न समाउने डाली या हाँगो । हामी वरपरको झार समाउँदै, घिस्रिदै हिड्दा अगाडि लागेका साथीहरुले भने छोडिसकेका थिए । सञ्चारमन्त्रीको सचिवालय सदस्य टीकाराम लामा र म भने सबैभन्दा पछाडि थियौं ।

बेसीमा पुगेपछि मात्र थाहा भयो, खानेपानीको स्रोत हेर्न धुलिखेल खोलामा पुग्नु पर्ने रहेछ । त्यहाँबाट खेतको कुलैकुलो निक्कै बेर हिडेपछि बल्ल पुगियो धुलिखेल खोला र खावा मुन्तिरको खोल्सीको संगम स्थलमा । जहाँबाट दुवै स्रोतको पानीलाई जम्मा गरी लिफ्टिङ प्रविधि मार्फत पाँचखाल नगरपालिकाको वडा नंं ५ मा वितरण गर्ने वडाअध्यक्ष सापकोटाको सोच रहेछ ।

……………………………………….

‘धुलिखेल खोला र यो खोल्सीको पानीलाई एकै ठाउँमा जम्मा गरेर यहाँबाट लिफ्ट गर्ने हाम्रो सोच हो’ वडाध्यक्ष सापकोटाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख नन्द बन्जाडेलाई आफ्नो सोचबारे जानकारी गराउनुभयो ।

एकैछिन गमेपछि ‘ठीक छ, यस्तै प्रकृतिका धेरै खानेपानी आयोजना कार्यान्वयनको क्रममा छन्, अन्यत्र सम्भव हुँदा यहाँ सम्भव नहुने भन्ने कुरै आउँदैन । बरु यहाँ बनाउनुपर्ने संरचनाहरुका लागि जग्गा प्राप्तिको काममा वडा कार्यालयले तदारुकता देखाउनुहोस्’ प्रमुख बन्जाडेले आग्रह गर्नुभयो । उहाँले पानी लिफ्ट गर्न बनाईने इनार (सम्पवेल) लाई कुनातिर धकेलेर बनाउनुपर्ने र यसो गर्दा बर्खामा बाढीको छालले नभेट्ने सल्लाह दिनुभयो ।

सहलगानी खानेपानी आयोजनाका इन्जिनियर ऋषि रिमाल आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो, एकैछिनमा मोबाइलमा भएको एपको माध्यमबाट खानेपानीका लागि सुरुको संरचना बनाउनुपर्ने स्थान समुद्री सतहबाट ९२३ मिटरको उचाईमा रहेको जानकारी गराउनुभयो ।
धुलिखेल खोलाको तीरमा रहेर यत्तिका छलफल भईरहँदा टिकाराम लामा फेरि त्यही बाटो फर्कनुपर्ने कुराले गलेर फतक्क भईसक्नुभएको थियो । पहिले ओरालो झरेको बाटो फर्किनु नपर्ने र बैकल्पिक बाटो भएर जाँदा बीच बाटोसम्म गाडी नै आउँछ भन्ने भएपछि त्यहाँबाट सीधै उक्लियौं जंगलको बाटो ।

……………………………………….

जंगलको बाटो न हो, कहिलेकाहीं घाँस दाउरा गर्ने मान्छे बाहेक कोही नहिंड्ने रहेछ । बाटो खोज्दै, बुट्यान समाउँदै कच्ची रोडमा त निस्कन सफल भयौं, तर त्यहाँसम्म गाडी आएकै थिएन । धुलिखेल खोलाको पानी लिफ्ट गर्न पहिलो ट्याङ्की बनाउने सम्भावित यही ठाउँ हुनसक्ने भएपछि इन्जिनियर रिमालले त्यस ठाउँको पनि उचाई लिईहाल्नुभयो । त्यो ठाउँको हाईट रहेछ १०१५ मिटर । त्यत्ति धेरै उक्लिदा पनि हामी धुलिखेल खोलाबाट सीधै १०० मिटर उचाई मात्र उक्लिएछौं । त्यो ठाउँ थियो रात्माटे बन वा बन्से पनि भनिदोरहेछ ।
……………………………………………….

त्यसपछि हामी गयौं धुलिखेल खोलाको पानी जम्मा गरेर वितरण गर्नुपर्ने सबैभन्दा उच्च ठाउँमा । बस्ती नजिकै उच्च ठाउँमा कहीं कतै पानीको स्रोत नभएपछि बस्तीभन्दा करिब ४०० मिटर सीधा गहिराईमा रहेको धुलिखेल खोलाको पानी लिफ्ट गरेर वितरण गर्ने योजनाको परिकल्पना गरिएको रहेछ । साँझ पर्नै लाग्दा वडा अध्यक्ष सापकोटाले १२९७ मिटरको उचाईमा रहेको कोट थुम्कामा पुर्‍याएर पानी वितरण गर्नुपर्ने क्षेत्रहरु देखाउनुभयो ।


………………………………………

धुलिखेल खोलाको पानीलाई कोट थुम्कामा लिफ्टिङ गरी वितरण गर्न सकेमा वडा नं. ५ का करिब ७ सय घरका ५ हजार जनसंख्या लाभान्वित हुने वडाध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो । ‘अहिले पानी नपाएर काकाकुल भएर बाँचेका छन् । मेरै कार्यकालमा खानेपानी खुवाउन सकेमा मात्र मैले जनप्रतिनिधी भएपछि जनताको लागि केही काम गरें भन्ने ठान्नेछु अरु त जसले पनि गर्न सक्ने काम हुन्’ उहाँले भन्नुभयो ।

वडा अध्यक्ष सापकोटाका अनुसार धुलिखेल खोलाको पानी लिफ्ट गरेर खावा, जोगीथुम्का, सिम्रिङकोट, जगता, थलिमैदान, केराघारी, मयलपानी, जगता, सौरबोट, माटोखानी, रयाले, ताप्केगराका बासिन्दालाई वितरण गर्नुपर्नेछ । यसका अलावा लाभान्वित क्षेत्रमा जीपलाइन देखिका ५ वटा रिसोर्ट, २ वटा आधारभूत विद्यालय र १ माध्यमिक विद्यालय गरी ३ वटा विद्यालय र वडा कार्यालय समेत पर्दछन् ।

दोलालघाटको पानी ट्याङ्करमा ल्याएर खानुपर्ने बाध्यता

पाँचखाल नगरपालिकाको वडाहरु मध्ये सबैभन्दा अभावग्रस्त वडाको रुपमा लिईदो रहेछ वडा नं. ५ । त्यसमा पनि खानेपानीको मुहान कतै नभएको सुख्खाग्रस्त क्षेत्रको चिनारी बनाएको वडा नं. ५  को केही स्थानमा डिपबोरिङ गरेर दिनको २५/३० लिटर पानी वितरण गर्दै आएको भएपनि अपुग पानीका लागि दोलालघाटमै भर पर्नुपरेको महिला सदस्य चित्रकुमारी सापकोटाले बताउनुभयो । मुढेपानी डिपबोरिङ खानेपानीबाट पानी पिउदै आएका विज्ञान ढुंगाना भन्नुहुन्छ ‘दिनको १०/१५ मिनेट पानी आउँछ । त्यत्तिन्जेल जत्ति पानी आउँछ त्यत्ति थाप्ने हो । कहिले २० लिटर आउला कहिले ५० लिटर पनि आउँछ । तर यत्तिले पुग्दैन ।’

पाँचखाल नगरपालिकाको वडा नं. ५ मा मूहानमा आधारित कुनै पनि खानेपानी छैनन् । भिरालो जमिनमा डिपबोरिङ समेत बर्षैभरिका लागि भरपर्दो नभएकाले धुलिखेल खोलाको पानी लिफ्ट गरेर वितरण गर्नुको विकल्प नरहेको महिला सदस्य सापकोटाले बताउनुभयो ।
वडा नं. ५ मा हाल मुढेपानी डिपबोरिङ खानेपानी, ३६ किलो खानेपानी डिपबोरिङ र जगता सन्यासी डिपबोरिङ गरी तीन वटा सा – साना खानेपानी योजनाबाट मात्र पानी वितरण भईरहेको छ ।

धेरै लागत लाग्न सक्ने

पाँचखाल नगरपालिकाको वडा नं. ५ मा खानेपानी आयोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न पुग्नुभएका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्द बन्जाडेले पानीको मुहान बस्तीबाट धेरै टाढा रहेको, मुहानदेखि पानी जम्मा गर्ने स्थान बीचको सीधा हाईट धेरै भएको र बस्ती छरिएर रहेकाले धेरै लागत लाग्न सक्ने बताउनुभयो ।

‘लागत धेरै लाग्न सक्छ भनेर खानेपानी आयोजनै सञ्चालन नगर्ने भन्ने कुरा आउँदैन । बरु कसरी लगानी जुटाउने भन्ने हो’ आयोजना प्रमुख बन्जाडेले भन्नुभयो ‘यो आयोजनाका लागि सहलगानी मोडलमा जानुपर्छ र उपभोक्ता, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले लगानी गर्नुपर्छ ।’

उहाँले अब चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउन इन्जिनियर खटाईने र त्यसअघि वडा कार्यालयले गर्नुपर्ने कामहरु गर्नका लागि वडाध्यक्ष सापकोटालाई आग्रह गर्नुभयो ।

पी.टी.लोप्चन/काभ्रेपलाञ्चोक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार