काठमाडौ : काठमाडौ महानगरपालिकाले जनप्रतिनिधीहरुका लागि फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिमको आयोजना गरेको छ । दुई सत्रमा विभाजित तालिमको पहिलो दुई दिन र त्यसपछिका दुई दिनमा गरी काठमाडौ महानगरपालिकाका सबै वडा सदस्यहरुलाई समेट्ने काठमाडौ महानगरपालिकाले जनाएको छ ।
होटल एयरपोर्ट सिनामंगलमा सुरु भएको तालिमको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उदघाटन गर्नुभयो । तालिममा जनप्रतिनिधीहरुलाई फोहोरमैला व्यवस्थापनको बिषयमा जनप्रतिनिधीको दायित्व, फोहोरमैला सम्बन्धी नीति नियम, सार्वजनिक शौचालयको अवस्था र बनाउन सकिने स्थानहरु, शहरमा बढ्दो पानीको माग धान्न आकाशे पानी संकलन प्रविधि र पानीको पुनःर्भरण एवं वर्तमान अवस्थामा फोहोरमैला व्यवस्थापनको अभ्यास र भावी दिनमा गर्नुपर्ने कार्यका बिषयमा छलफल हुनेछ ।
हालै काठमाडौ सम्पन्न भएको फोहोरमैला व्यवस्थापन सम्बन्धी सम्मेलनले फोहोरलाई स्रोतमै व्यवस्थापन नगरेसम्म फोहोरमैला व्यवस्थापनको काम अति जटिल बन्दै जाने निष्कर्ष निकालेको थियो । सम्मेलनले आगामी दिनमा फोहोर व्यवस्थापनमा प्रविधिको उच्चतम प्रयोग र जनप्रतिनिधीलाई अधिकतम परिचालन गर्नुपर्ने सुझाव समेत दिएको थियो ।