महालक्ष्मीमा दिसाजन्य लेदो व्यवस्थापन सुरु, सेफ्टी ट्याङ्क नबनाउने घर कालोसूचीमा

 

ललितपुरको महालक्ष्मी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनको काम सुरु गरिसकेको छ । नगरपालिकाले यसका लागि नयाँ घर बनाउँदा परिवार संख्याको अनुपातमा निश्चित आकारको सेफ्टी ट्याङ्की अनिवार्य बनाउनुपर्ने व्यवस्था गरेको छ । सेफ्टी ट्याङ्क भरिएपछि त्यसभित्रको दिजाजन्य लेदो प्रशोधनका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशोधन केन्द्र बनाउने काम समेत सुरु गरिसकेको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि महालक्ष्मी नगरपालिकाले सुरु गरेको कदम, यसको आवश्यकता, कार्यान्वयनमा आईपर्ने चुनौती एवं सफल कार्यान्वयनका लागि नगरपालिकाको रणनीति लगायतका बिषयमा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठसँग पी.टी. लोप्चनले गर्नुभएको कुराकानीको सम्पादित अंश :

पूर्ण सरसफाइको महत्वपूर्ण पक्षको रुपमा लिईएको दिसाजन्य लेदो व्यवस्थापनको काम सुरु गरिसक्नुभएको रहेछ । यो कहाँबाट कसरी सुरु गर्नुभयो ?

महालक्ष्मी नगरपालिकामा निर्वाचित भएर आईसकेपछि नगरपालिकाको समग्र सरसफाइ गर्ने दायित्व नगरपालिकाको भयो । नगरपालिका भित्र भएका फोहोरहरु जस्तै : ठोस फोहोरमैला, मानवमलमूत्र र फोहोरपानीलाई व्यवस्थापन गर्ने कुराहरु भए । हामीले तीनै थरिका फोहोरलाई समान महत्व दिएर व्यवस्थापन गर्ने भयौं । ती मध्ये पनि पनि मानवमूत्रलाई व्यवस्थापन गर्नका लागि हामीले सबैभन्दा पहिले ढल सहितका वडाहरु र ढल बिनाका वडाहरु छुट्यायौं ।

 

वडा नं. १, २, ३, ४ र ५ लाई ढल प्रणालीमा जोड्ने र ६, ७, ८, ९ र १० मा चाहिं दिसाजन्य लेदो व्यवस्थापन गर्ने भनेर विभाजन ग¥यौं । एक पटक लगानी गर्दा पुग्ने भएपछि सबै वडाका जनताहरुको माग त ढल प्रणालीमा जडान गर्ने भन्ने नै थियो । ढल निर्माण गर्दा लगानीको हिसाबले धेरै रकम आवश्यकता पर्ने र धेरै समय पनि लाग्ने भएकाले नगरपालिकालाई चाहिं छिटो व्यवस्थापन गर्नुपर्ने कारणले गर्दा सबैभन्दा पहिले यो आर्थिक बर्षदेखि सबै नयाँ बन्ने घरहरुमा अनिवार्य रुपमा सेफ्टी ट्याङ्क बन्द हुनुपर्छ भन्ने निर्णय गर्‍यौं । हामी निर्वाचित भएर आईसकेपछि हामीले खुला दिसामुक्त क्षेत्र त घोषणा गर्‍यौं । त्यस क्रममा हामीले के अनुभव गर्‍यौं भने हाम्रा नगरपालिकाभित्र भएका घरहरुमा जत्ति पनि सेफ्टि ट्याङ्कहरु छन्, ती सेफ्टी ट्याङ्क होइनन्, त्यहाँ होल्डिङ ट्याङ्क छन् कति चाहिं खल्डे चर्पी छन् । जसका कारणले दिसाजन्य लेदो बगेर गएर हाम्रा इनारहरु र खानेपानीका स्रोतहरु दुषित भएका छन् । त्यो दुषित पानीले गर्दा आज हैजा लगायत पानीजन्य रोगहरु उन्मुलन हुन सकेका छैनन् ।

हाम्रो नगरपालिका प्रतिबद्ध भएर मानवमलमूत्रको व्यवस्थापनका लागि प्रशोधन केन्द्र पनि बनाउँछौं र प्रशोधन केन्द्र सँगसँगै अब बन्ने नयाँ घरमा परिवार संख्याको अनुपातमा अनिवार्य सेफ्टी ट्याङ्क पनि बनाउँछौं ।

स्थानीय सरकार, प्रदेश सरकार, नेपाल सरकार, डब्लुएचओ, युनिसेफ लगायत सबै पानीजन्य रोगहरु निर्मूल गर्नका लागि अगाडि बढिरहेको छ तर सकिरहेको छैन । त्यसकारण दिसाजन्य लेदोलाई व्यवस्थापन नगरी पानीजन्य रोगहरु उन्मुलन गर्न सकिदैन भन्ने सोचका साथ सबै घरहरुमा सेफ्टी ट्याङ्क अनिवार्य निर्माण गर्नुपर्छ र त्यो बन्द गरिएको हुनुपर्छ भन्ने निर्णय गर्‍यौं । त्यसलाई कडाईका साथ हामीले यो आर्थिक बर्ष साउन १ गतेदेखि लागु गर्दै आईरहेका छौं । सेफ्टी ट्याङ्क कस्तो हुनुपर्छ ? कति जना परिवारका लागि कति लम्बाई, कति चौडाई, कति गहिराईको बनाउनुपर्छ भनेर नमुना समेत दरखास्त फाराममै राखेका छौं ।

 

नक्सामा समावेश नगर्दा सम्म अनुमति नपाउने भएपछि नक्सामा त समावेश गर्लान् ? तर नक्सामा समावेश गरे अनुसार नै बनाए बनाएनन् भनेर कसरी थाहा पाउने ?

हाम्रो हरेक वडामा प्राविधिकहरु छन् । नगरपालिकामा पनि प्राविधिक इञ्जिनियरहरु हुनुुहुन्छ । पहिलो त नक्सामा उल्लेख भए अनुसार नै सेफ्टी ट्याङ्कको एरिया सहित छुट्याएर उहाँहरुले अस्थायी स्वीकृति लिनुहुन्छ । स्वीकृति लिएपछि भवन निर्माणको काम सुरु गर्नुहुन्छ । जब डिपीसी लेभल पूरा भएपछि स्थायी स्वीकृतिका लागि आउनुहुन्छ त्यो बेलामा हाम्रो नगरपालिकाको प्राविधिक गएर सेफ्टी ट्याङ्क बनाएको छ कि छैन ? निरीक्षण गर्नुहुन्छ । सेफ्टी ट्याङ्क बनाएको रहेनछ भने उहाँहरुले स्थायी स्वीकृति पाउनुहुन्न, स्थायी स्वीकृति नपाएपछि उहाँहरुले घर बनाउन पाउनुहुन्न ।

सेफ्टी ट्याङ्कको नमुना

त्यसले गर्दा स्थायी स्वीकृतिका लागि नै सेफ्टी ट्याङ्क अनिवार्य रुपमा निर्माण गरिसकेको हुनुपर्छ । बीचमा पनि नगरपालिका र वडामा भएको प्राविधिकले अनुगमन गर्न जानुहुन्छ । अनुगमनका क्रममा सेफ्टी ट्याङ्क बन्द नगरी भत्काईएको, होल्डिङ ट्याङ्क बनाईएको वा हाम्रो नियम भन्दा बाहिर गएर निर्माण गरिएको पाइएमा उक्त घरलाई कालोसूची राखेर कार्वाही गर्छौ । कालोसूचीमा परेको घरलाई नगरपालिका तथा वडा कार्यालयबाट दिईने सिफारीस लगायत सबै सुविधाबाट बञ्चित गराउँछौं । त्यसकारणले हामी के कुरामा विस्वस्त छौं भने हाम्रो नगरपालिकाभित्रका जत्ति पनि दाजुभाइहरुले घर बनाउनुहुन्छ उहाँहरुले नगरपालिकाको नियमलाई अक्षरशः पालना गर्नुहुन्छ । कार्वाही गर्ने सम्मको तहमा हामी पुग्नुपर्दैन भन्ने नगरपालिका विश्वस्त छ ।

नयाँ बन्ने हकमा त यो व्यवस्था भयो । पुरानो घरको हकमा चाहिं के हुन्छ ? नयाँलाई मात्र नियमन गरेर त दिसाजन्य लेदो व्यवस्थापन पूर्ण हुँदैन होला ?

पुराना घरहरुको सवालमा हामी तत्काल सुधार गर्न सक्ने अवस्थामा छैनौं तर सुधारका लागि हामी अनुरोध गरिरहेका छौं । अभियान सञ्चालन गरिरहेका छौं । जब सेफ्टी ट्याङ्क खाली गर्नुहुन्छ ? त्यो खाली गर्ने बेलामा एक दिन धैर्य गरेर नयाँ मापदण्ड अनुसारको सेफ्टी ट्याङ्क बनाउन चाहनुहुन्छ भने नगरपालिकाले उहाँहरुलाई आवश्यकीय प्राविधिक सहयोगको साथै पुरस्कार दिने व्यवस्था राखेका छौं । जब उहाँहरुले पुराना घरलाई भत्काएर नयाँ संरचना बनाउनुहुन्छ नयाँ संरचना बनाउँदा त नयाँ प्रक्रियामा आउनुहुन्छ । तसर्थ हामीले पुराना घरहरुलाई प्रशोधनका लागि चेतनामूलक अभियानहरु सञ्चालन गरिरहेका छौं । आशा छ पुराना घरहरु पनि यो नियममा आवद्ध हुनुहुनेछ ।

अनिवार्य सेफ्टी ट्याङ्क बनाएपछि त दिसाजन्य लेदो प्रशोधन गर्ने ठाउँ पनि चाहियो । प्रशोधन केन्द्र निर्माणको काम चाहिं के भईरहेको छ ?

दिसाजन्य लेदोलाई व्यवस्थापन गर्नका लागि हाम्रो नगरपालिकाले बिल गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा वडा नं. ९ मा अन्तर्राष्ट्रिय स्तरको आईएसओ स्टाण्डर्डमा नयाँ प्रशोधन केन्द्र बन्न गईरहेको छ । यसको डिजाइन तयार भईसकेको छ । केही समयभित्रै हामी निर्माणको चरणमा जाँदैछौं । त्यो नहुञ्जेलसम्म सेफ्टी ट्याङ्क खाली गर्ने प्राइभेट उद्यमीहरु नगरपालिकाभित्रै हुनुहुन्छ ।

घर निर्माणको लागि दरखास्त फाराम

उहाँहरु सँगको सहकार्यमा हाम्रो लुभुमा पहिले नै बनेको प्रशोधन केन्द्र छ, त्यो प्रशोधन केन्द्रमा प्रशोधन गर्ने व्यवस्था मिलाएका छौं । अहिले जुन सेफ्टी ट्याङ्क सफा गरेर कि खोलामा, कि जंगलमा फ्याँकिरहेका छन् त्यसले पनि हाम्रो वातावरण, हाम्रो खोलानाला प्रदुषित गरिरहेको छ । जसले गर्दा एउटा सफा शहरमा बस्न पाउने हाम्रो नैसर्गिक अधिकार हनन् भईरहेको छ । त्यसले हाम्रो सभ्यताको पहिचान खलल भईरहेको छ । हामी असभ्य नागरिक जस्तो देखिरहेका छौं । नेपाल सरकारले पर्यटक भित्र्याउने जुन लक्ष्य राखेको छ, हरेक नगरपालिकाले पनि आफ्नो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ । त्यो पर्यटक भित्र्याउनका लागि पनि सरसफाइ महत्वपूर्ण अंश बन्न जान्छ ।

र त्यसमध्येको दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न सकेनौं भने त्यसले दुरगामी नकारात्मक प्रभाव पर्ने भएकाले नगरपालिकाले दिसाजन्य लेदोलाई प्रशोधन केन्द्रमा प्रशोधन गरेर त्यसबाट उत्पादन हुने चाहे बायोग्याँस होस्, चाहे मल होस् वा प्रशोधित पानी होस् त्यसलाई पनि उपयोग गर्न सक्ने भएकाले यसले हामीलाई फाइदा नै दिन्छ । त्यसकारण हामीले यो पद्धतिलाई अवलम्बन गर्न सुरु गरेका हौं ।

 

दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाले चालेको यो कदममा केही चुनौती त पक्कै छन् । नगर प्रमुखको हैसियतले यो कार्यको सफल कार्यान्वयनका लागि के छ प्रतिबद्धता ?

खुला दिसामुक्त घोषणा गरिसकेपछि पूर्ण सरसफाइको काम अब देशभरि गर्नुपर्छ त्यसमध्ये हाम्रो नगरपालिकाले पनि गर्नुपर्छ । र हामी निर्वाचित भईसकेपछि ४ वटा वडाहरु खुला दिसामुक्त घोषणा हुन बाँकी थिए । त्यसलाई हामीले खुला दिसामुक्त वडा घोषणा गरी नगरपालिकालाई नै घोषणा गर्‍यौं । अब पोष्ट ओडिएफ कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । दिसाजन्य लेदो व्यवस्थापन गर्न सकेनौं भने पूर्ण सरसफाइ कार्यक्रम अगाडि बढ्नै सक्दैन । यसका लागि हाम्रो नगरपालिकामा स्यानिटेसन सेल पनि बनाएका छौं । त्यो स्यानिटेशन सेलले पनि नगरपालिकाभित्रको फोहोरहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा योजनाहरु बनाएर अगाडि बढ्छ ।

र यो दिसाजन्य लेदोको सवालमा प्रशोधन केन्द्र भन्दा पनि ठूलो कुरा यसको व्यवस्थापन हो । जुन व्यवस्थापन पक्षमा जनतालाई सचेतना जगाउने, समुदाय समुदायमा किन हामीले सेफ्टी ट्याङ्क बनाएर सील गर्नुपर्छ ? यसको प्रभाव के हुन्छ ? केही पैसा त खर्च हुन्छ तर केही खर्च भएको पैसाले कालान्तरमा हामीलाई फाइदा दिन्छ । हामीलाई खानेपानीजन्य रोगहरुबाट बचाउँछ भने हामीलाई एउटा सभ्य नागरिकको पहिचान दिन्छ । त्यस्तै समाजलाई स्वस्थ बनाउन अगाडि सार्छ । सहरको सभ्यता झल्किन्छ । स्वच्छ हावामा बाँच्न पाउने नैसर्गिक अधिकार प्राप्ति गर्छौ । पर्यटक आगमन बढ्छ । त्यसको लागि नै हाम्रो नगरपालिका प्रतिबद्ध भएर मानव मलमूत्रको व्यवस्थापनका लागि प्रशोधन केन्द्र पनि बनाउँछौं र प्रशोधन केन्द्र सँगसँगै अब बन्ने नयाँ घरमा परिवार संख्याको अनुपातमा अनिवार्य सेफ्टी ट्याङ्क पनि बनाउँछौं ।

यहाँको समय र विचारका लागि धेरै धेरै धन्यबाद

मानव मलमूत्र व्यवस्थापनका लागि हाम्रो नगरपालिकाले जुन काम सुरुवात गरेका छौं, यसबारेमा जानकारी गराउने अवसर दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यबाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार