
काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका अध्यक्ष ई. रुद्र प्रसाद गौतमले पदबाट राजीनामा दिनु भएको छ । उहाँले शुक्रबार खानेपानी मन्त्रालयका सचिव समक्ष राजीनामा बुझाएको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । अध्यक्ष गौतम सँगै आयोगका सदस्यहरु ई.कुल भुषण शेखर शर्मा र यसोदा कार्कीले पनि आजै राजीनामा दिनु भएको छ।
२०८३ वैशाख १३ गते सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश–२०८३ ले महसुल निर्धारण आयोग र पदाधिकारीहरुलाई नसमेटिए पनि आयोगका अध्यक्ष सहित समान प्रकृतिका नियुक्त पदाधिकारीहरूले राजीनामा दिन उपयुक्त हुने सुझाव प्राप्त भएपछि उहाँले राजीनामा दिएको स्रोतको भनाइ छ।
गौतम २०८० मंसिर १३ गते मन्त्रिपरिषद्को निर्णयबाट आयोगको अध्यक्ष पदमा नियुक्त हुनु भएको थियो। उहाँले प्रतिस्पर्धात्मक प्रक्रिया अन्तर्गत मेरिटका आधारमा नियुक्ति पाएको उल्लेख गर्दै आफ्नो कार्यकालमा आयोगको कानुनी अधिकार र अत्यन्त सीमित स्रोत साधनको समुचित उपयोग गर्दै संस्थाको कार्य प्रभावकारिता र अस्तित्वलाई वर्तमान अवस्थासम्म पुर्याउन सक्रियतापूर्वक काम गरेको बताउनु भएको छ ।
सरकारको कार्यनीति र दृष्टिकोणलाई सहयोग पुग्ने अभिप्रायले तथा सचेत नागरिकको नैतिक जिम्मेवारीलाई मध्यनजर गर्दै आफूले राजीनामा दिएको गौतमले बताउनुु भएको छ ।
उहाँले राष्ट्रलाई आवश्यक पर्दा आफ्नो अनुभवका आधारमा इमान्दारीपूर्वक सेवा दिन सधैं तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।


609 पटक हेरिएको 

