बाजुरा : बाजुरको सदरमुकाम मार्तडीमा एक महिनादेखि खानेपानी अभाव भएको छ । सधैंजसो खानेपानीको अभाव झेल्दै आएका सदरमुकामवासी एक महिनायता थप समस्या भोग्न बाध्य भएका हुन् ।
बडीमालिका नगरपालिकाले मार्तडीमा खानेपानी व्यवस्थित गर्ने योजना बनाएको लामो समय भए पनि समस्या समाधान हुन सकेको छैन । एक महिनादेखि मार्तडीमा खानेपानीको संकट भएको स्थानीय दिलबहादुर कुँवरले बताउनुभयो । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारवासी थापावाडा, बाउली र विद्युत् नहरको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।
बडीमालिका नगरपालिकाले चारवटा ठूला खानेपानी ट्यांकी निर्माण गरे पनि सदरमुकाममा भने खानेपानी पर्याप्त मात्रामा नपुगेको कुँवरले बताउनुभयो ।
अहिले सदरमुकामवासी कुवाको पानीका लागि घन्टौँ लाइनमा बस्न बाध्य भएका छन् । खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरे पनि समस्या समाधान हुन्छ भन्दै टार्ने गरेको स्थानीय धनकृष्ण विकले बताउनुभयो । धारामा पानी नआएपछि खानेपानीका लागि दुई, तीन घन्टा टाढा रहेको भम्क, पाल्त, थापाबाडा लगायत ठाउँबाट पानी बोकेर ल्याउनुपरेको स्थानीय कल्पना महतले बताउनुभयो ।
बडीमालिका नगरपालिकाले भने खानेपानीलाई व्यवस्थित गर्ने योजना बनाएर अघि बढेको बताएको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले सडक विस्तारका क्रममा खानेपानीको पाइपलाइन डोजरले भत्काएकाले समस्या भएको बताउनुभयो ।