सुनसरी : संघीय सरकारले खानेपानी आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा आयोजना सम्पन्न हुन बर्षौं लाग्ने भएको छ । इटहरी उपमहानगरपालिकामा ५ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजना बजेट अभावकै कारण अझै सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजनाको काम सक्न ८ करोड ५० लाख रुपैयाँ लाग्ने भए पनि संघीय सरकारले बार्षिक २० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिदिने गरेको छ । यही अनुपातमा बजेट विनियोजन गर्ने हो भने आयोजनाको काम सक्न ४ दशक लाग्ने देखिन्छ ।
‘प्रदेशबाट योजना संघमा गएपछि थोरै बजेट आउने गरेको छ,’ इटहरी खानेपानी डिभिजन कार्यालयका सहायक इन्जिनियर प्रमोदकुमार दत्तले भन्नुभयो ‘अहिले बजेट अभावकै कारण काम रोकिएको छ ।’ २०७१ फागुन ५ गते राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य प्रेमप्रसाद दंगालले शिलान्यास गर्नुभएको खानेपानीबाट ३ हजार २ सय घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्य राखिएको थियो ।
आर्थिक अभावले खानेपानी आयोजना समस्यामा परेको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष केशर प्रधानले बताउनुभयो । पाइपलाइन बिच्छ्याउन पाइप र फिटिङको सामान नहुँदा खानेपानीको काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।
सरकारले अपुग बजेट दिँदा भनेकै समयमा उपभोक्तालाई पानी वितरण गर्न नसकेको उहाँले बताउनुभयो । इटहरी उपमहानगरपालिका १९ र २० का अधिकांश बासिन्दाले बोरिङको पानी पिउँदै आएका छन् ।


769 पटक हेरिएको 

