
काठमाडौ : महिनावारी सम्बन्धी गरिएको एक अध्ययनले महिनावारी कसरी हुन्छ वा यसको प्राकृतिक प्रक्रिया के हो ? भन्ने ज्ञानकै अभाव रहेको देखाएको छ । ‘महिनावारीको स्वस्थकर व्यवस्थापन’ का बिषयमा एस्एनभी नेपालले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी गरिएको अध्ययनले महिनावारी हुँदा कस्ता खाले सामग्री कसरी बनाउने ? कसरी प्रयोग गर्ने ? भण्डारण गर्ने र विसर्जन गर्ने बारेमा समेत पर्याप्त ज्ञानको अभाव रहेको देखिएको हो ।
राष्ट्रिय महिनावारी व्यवस्थापन सञ्जालको बैठकमा अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै एस्एनभी नेपालकी हरिशोभा गुरुङले महिनावारीको बेला बग्ने रगत अशुद्ध, खराब वा हानिकारक रगत हो र महिनावारीको बेला महिला अशुद्ध हुन्छन् भन्ने आम विश्वास रहेको पाईएको बताउनुभयो ।
एस्एनभी नेपालले हिमाली जिल्लामा डोल्पा, जुम्ला, हुम्ला, पहाडी जिल्लाहरुमा सल्यान, जाजरकोट, रुकुम, दैलेख तथा तराईका सप्तरी, सिरहा, महोत्तरी, धनुषा लगायतको जिल्लामा २० देखि ४५ बर्ष उमेर समूहमा अध्ययन गरिएको थियो ।

अध्ययनले महिनावारी हुँदा प्रयोग गरिएको सामग्री धुन प्रयोग गरिएको साबुन अशुद्ध हुने भएकाले अन्य अवस्थामा प्रयोग गर्नुहुँदैन भन्ने छाप रहेको देखाएको छ । यसैका कारण महिनावारीको समयमा प्रयोग गरिएको सामग्री समेत कहिले पानीले मात्र धुने गरेको र कहिलेकाहीं साबुनको सानातिना टुक्राले धुने गरेको महिनावारीका बेला प्रयोग भएको सामग्री अरुले देख्ने ठाउँमा सुकाएमा नराम्रो नजर लाग्ने र पछि बाँझोपन हुने धारणा व्याप्त रहेको अध्ययनमा पाईएको गुरुङले जानकारी गराउनुभयो ।
‘सबै महिलाहरुमा महिनावारी लाज हुने, आत्मग्लानी हुने र घिन लाग्ने बिषय हो भन्ने धारणा व्याप्त रहेको, पुरुषहरु विशेष गरी जेठाजु ससुराहरुले देख्दा लाज हुने भएकाले कसैले नदेख्ने, कुनातिर, झाडीमा, भुँईमा, चर्पी भित्र वा बाहिर छोपेर सुकाउने साथै अर्को पटक प्रयोग गर्नका लागि कसैले नदेख्ने कुना, दाउरा राख्ने ठाउँ, चर्पीको प्वाल वा घर पछाडि कुना वा प्वालतिर प्लाष्टिकमा पोको पारेर राख्ने चलन रहेको पाईएको छ’ गुरुङले भन्नुभयो ।
महिनावारीको व्यवस्थापन गर्ने बिषय महिलाको नीजि मामिला भएकाले यसमा परिवारका पुरुष र समुदायका अन्य सदस्यहरुको चासोको बिषय वा जिम्मेवारी होइन भन्ने सोच व्याप्त रहेको अध्ययनले देखाएको छ ।

यस्तै, महिनावारीको बेला सफाइ गर्ने सुविधा जस्तै चर्पीमा कपडा फेर्ने, नुहाउने, धुने र प्रयोग गरेको सामग्री विसर्जन गर्ने बिन जस्ता सुविधाको अभाव रहेको पाईएको छ । स्थानीय स्तरका पसलहरुमा स्यानिटरी प्याडको समेत अभाव रहेको अध्ययनले औल्याएको छ ।
राष्ट्रिय महिनावारी व्यवस्थापन सञ्जालको बैठक यसपटक एसएनभी नेपालले आयोजना गरेको हो । सञ्जालको बैठक सञ्जाल सदस्यहरुले पालैपालो गर्ने प्रचलन छ ।
बैठकमा महिनावारीको बिषय पाठ्यक्रममा समावेश गर्नका लागि भईरहेको कामका बारेमा पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले जानकारी गराउनुभएको थियो । यस्तै शिक्षा मन्त्रालय, अनुगमन तथा मुल्याङ्कन शाखाकी उपसचिव दिव्या दवाडीले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन बनेको कार्यविधिमा भएको व्यवस्थाका बिषयमा जानकारी गराउनुभएको थियो ।
बैठकको अध्यक्षता सञ्जालका संयोजक गुणराज श्रेष्ठले गर्नुभएको थियो । राष्ट्रिय महिनावारी व्यवस्थापन सञ्जालमा महिनावारी स्वच्छताको विभिन्न क्षेत्रमा क्रियाशील ६० भन्दा बढी संघसंस्था सदस्य छन् ।



1161 पटक हेरिएको 

