
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मुलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरुले सरकारले कुरीतिका रुपमा घोषणा गरेको छाउपडी प्रथा उन्मुलन अभियानमा साथ दिन थालेका हुन्। जुम्ला तिला गाउँपालिका १ की निलि परियार गाउँको कुल देवताको प्रतिनिधि हुन्। तर उनी छाउपडी प्रथा मान्दिनन्। नत उनी छाउ भएको समयमा छाउगोठमा बस्छिन्, नत छोरी बुहारीलाइ छाउगोठमा बसाल्छिन्। बरु छाउ भएको समयमा सुरक्षित कोठामा बस्न, आवश्यक आराम गर्न पोसिलो खानेकुरा खान र सुरक्षित हुन् सुझाव दिन्छिन्।
तिला गाउँपालिका जुम्लाले आयोजना गरेको छाउपडी उन्मुलनमा सरोकारवालाको भुमिका बिषयमा भएको अन्तरक्रिया भाग लिदै उनले भनिन्,‘छाउपडी हुनु अभिसाप होइन्। कुनै पापको प्रतिफल पनि होइन्। यो त नियमित प्रक्रिया हो। फल लाग्नको लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, नत उनीहरुलाइ देउताले नै छुट्टै राख्न भन्छन्, यो त समाजमा महिलालाइ दबाइ राख्न बनाइएको संस्कार मात्र हो,।’ सरकारले थालेको छाउपडी उन्मुलन अभियानमा एकाकार भएर लागौं, ‘छाउपडी प्रथालाइ जरैदेखि उखेलेर फ्याकौं, यो नै यहाँका महिलाका लागि भलाइ हुनेछ।’
निली परियार छाउपडी प्रथाको उन्मुलनका बारेमा धारणा राखिरहँदा सहभागि सबै छक्क परे । उनीहरुले एक आपसमा मुखामुख गरे। महिला सहभागि निकै उत्साहित बने। पुरुष सहभागि पनि यो भनाइ प्रति सन्तोष नै थिए। सबैको ध्यान दृष्टि पनि उनीमै केन्द्रित थियो।
उनले थपिन्, ‘हेर्नुस सहभागि दिदी बहिनीहरु छाउ भएको समयमा गोठमा बस्नु हुदैँन। घरमा बस्दा पनि केही बिग्रदैन्,यो समाजले महिलालाइ अघि बढ्न नदिनका लागि निर्माण गरेको कुसंस्कार मात्र हो, ‘छाउपडी प्रथा। छाउ भएको समयमा सफा सुग्घर हुनुस, सुरक्षित रहनुस,यो नै हाम्रा लागि फाइदाको कुरो हो।’
यहाँका महिला अहिले सम्म पनि छाउ हुँदा घरभित्र बसे देवता रिसाउँछन् भन्ने मानसिकताबाट ग्रसित नै छन्। कार्यक्रममा सहभागि अर्की महिला दिलमाया शाही ९हमाल०ले भनिन्,‘ अब देवताकै प्रतिनिधिबाट यो प्रकारको कुरा सुनिसकेपछि हामी ढुक्क भयौँ। छाउ भएको समयमा हामी पनि घरमा बस्छौँ, अन्य महिलालाइ पनि घरमा बस्न सुझाउँछौँ।’ स्थानीय प्रशासनले थालेको छाउपडी उन्मुलन महाअभियानले यहाँका महिला सचेत भइसकेका छन्।
महिला स्वंयमसेविका हरिकला रावत छाउगोठबाट मुक्ति दिलाउन सबैको पहल जरुरी रहेको बताउँछिन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे छाउपडी अन्त्य अभियानमा धामीझाँक्री र पुरोहितबाट सकरात्मक सहयोग पाएको बताउँछिन्। उनले भनिन्,‘ धामीझाँक्रीले पनि सरकारको छाउपडी उन्मुलन अभियानलाइ साथ दिने बचन दिएका छन्। छाउपडी बिरुद्ध सबै एकाकार भएर अघि बढौँ, समतामुलक समाजको स्थापना गर्नमा दृढ बनौँ।’ जिल्ला प्रशासन कार्यालय जुम्लाले पुरोहित, धामीझाँक्री सबै संग छुट्टा छुट्टै छलफल गरिसकेको छ। यो खबर नागरिक दैनिकबाट लिएका हौं ।
तिला गाउँपालिकाले पनि पछिल्लो समयमा छाउपडी गोठमुक्त अभियानलाइ तिक्रा बनाउँदै लगेको छ। गाउँपालिकामा छुट्टै रजिष्टर खडा गरेर छाउपडी प्रथा मान्दैनौँ, र मान्न बाध्य पार्दैनौँ, भन्दै हस्ताक्षर संकलन कार्य पनि शुरु गरेको छ। गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा भन्छिन्,‘म पनि महिला हो। म पनि छुइ हुन्छु। तर बाहिर बसेकी छैनन्। घरभित्रै बसेकी छु।’
गाउँकार्यपालिकामा धामी, डाँग्री र धुमेनी छन्। संगै खान्छौँ। संगै बस्छौँ। तर देवताले छाउ भएको भनेर बैठक कक्ष बाहिर पठाएका छैनन्। धामी झाँक्री पनि समाजमा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मुलनमा सकरात्मक छन्।


794 पटक हेरिएको 

