बाँके : तपाई हामी मध्ये कतिले शौच गर्दै मोबाइल हेर्ने, गीत सुन्ने वा साथी सँग च्याट गर्ने गर्नुहुन्छ ? कतिको शौचालय भित्रै गीत गुन्गुनाउने बानी पो छ कि ? तर अब तपाईले गीत गुन्गुनाईरहनु पर्दैन, न त शौचालयमा मोबाइल नै हेर्नुपर्छ । किनकि शौचालयमै गीत सुन्न पाइने शौचालय बाँकेको नेपालगञ्जनमा जडान भईसकेको छ ।
एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत नेपालगञ्जको धम्बोझीचोक नजिकै कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा यस्तो शौचालय निर्माण गरिएको हो । शौचालयमा सङ्गीतको आनन्द लिँदै आराम साथ शौच गर्न पाउने व्यवस्था रहेको छ ।
तपाईले गीत सुन्दिन भनेर पनि धर पाउनुहुन्न, किनकि यो पूर्ण स्वचालित शौचालय हो । तपाई भित्र छिर्न साथ शौचालयमा आफै गीत बज्न सुरु हुन्छ । शौचालयभित्र पानी तथा साबुन नभए शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए-नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालित रूपमा सङ्गीत बज्ने भएकाले गीत सुन्दै शौच गर्ने सुविधा दिईएको छ ।
शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको मुन्तिर हात थाप्दा तरल अवस्थाको साबुन झर्छ भने सँगै रहेको पानी सङ्केत देखाएको ठाउँमा हात लैजादा पानी झर्छ । जहाँ हात धुन सकिन्छ ।
एक पटकमा सात जना (तीन महिला, तीन पुरुष र एक अपाङ्गता भएका व्यक्ति) ले शौच गर्न सक्छन् । शौचालयको जमीन माथिको संरचना फोल्डिङ गर्न मिल्ने भएकाले शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा समेत स्थानान्तरण गर्न सकिन्छ । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत प्रवाह गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनु मात्रै उपलब्धिमूलक नभएकाले यसको सही सुदपयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले शौचालयलाई सफा राख्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । शौचालय ४६ लाख ३६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो ।
नेदरल्याण्ड्स विकास नियोगले यस अघि पनि चार बाहिनीचोक र मासुमण्डी नजिक ८१ लाख १६ हजार रुपैयाँ लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । उपमहानगरपालिकाले तीन वटा घुम्ती शौचालय समेत सञ्चालनमा ल्याएको छ । यो सँगै नेपालगञ्ज बजार भित्र एक दर्जन सार्वजनिक शौचालय भएका छन् ।