
काठमाडौ : नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसद बाहिर नै पानी नभएको बताउनुभएको छ । संसदमा प्रस्तुत सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उहाँले कोरोना भाइरस नियन्त्रणका लागि भाषण भन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो ।
‘यहि सदनमा हात धुनुपर्छ भनेर भाषण धेरै माननियहरुले गरे तर संसद बाहिर पानी छैन यही हो रोकथाम ? खुला सिमाना छ, चीनले १० दिनमा १ हजार बेडको अस्पताल बनायो भन्ने तर नेपालमा भएको औषधि पनि लुकाएर बस्दा सरकार मुकदर्शक भएर बसेको छ। यस्ता कुराहरु संवेदनशील भएर हेर्नुपर्यो ।’ उहाँले भन्नुभयो ।
चिकित्सकहरुलाई आत्मबल दिएर काम गर्ने वातावरण बनाउनुपर्ने, बिमा सुविधा देखि लिएर अन्य सेवा सुविधा समेत बढाउनुपर्ने माग गर्दै उहाँले यस्ता भयावह अवस्थासँग जुध्न सबै एकजुट हुनुपर्ने सांसद तिमल्सिनाले बताउनुभयो ।
उपप्रधानमन्त्रीको संयोजकत्वमा सरकारले समिति बनाएपनि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा उपप्रधान तथा रक्षामन्त्री संसदमा अनुपस्थित भएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।


1452 पटक हेरिएको 

