काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले समयमै आयोजना सम्पन्न नगर्ने सहयोगी संस्था, टीम लिडर तथा उपभोक्ता समितिलाई कार्वाही गर्ने भएको छ । खानेपानी आयोजना सम्पन्न गराउन सहयोगी संस्था र उपभोक्ता समितिहरुले विभिन्न समयमा गरेका लिखित प्रतिबद्धता अनुसार कार्य प्रगति नदेखिएको र कार्य प्रगति अगाडि बढाउन गम्भीर नदेखिएकाले त्यस्ता सहयोगी संस्था माथि कार्वाहीको तयारी गरेको हो ।
कोष विकास समितिले कार्य सम्पन्न गर्न बाँकी सहयोगी संस्था तथा उपभोक्ता समितिहरुका लागि सूचना जारी गर्दै यो सूचनालाई समेत बेवास्ता तथा अटेर गरी काम सम्पन्न नगर्ने खानेपानी तथा सरसफाइ आयोजनासँग सम्बन्धित सहयोगी संस्थाका अध्यक्ष, टिम लिडर तथा उपभोक्ता समितिको नाम उल्लेख गरी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्न बाध्य हुने जनाएको छ ।
सूचनामा भनिएको छ ‘विभिन्न सहयोगी संस्था (गैरसरकारी संस्था) हरुको सहजीकरण तथा प्राविधिक सहयोग एवं उपभोक्ता समितिहरुको प्रत्यक्ष संलग्नतामा देशका विभिन्न जिल्लामा ग्राभिटी तथा सतही पम्पिङ लिफ्ट, स्यालो ट्यूबवेल, ओभरहेड ट्याङ्क प्रविधिका खानेपानी तथा सरसफाइ आयोजनाहरुको निर्माण कार्य भैरहेकोमा कतिपय सहयोगी संस्था एवं उपभोक्ता समितिहरुले विभिन्न समयमा गरेका लिखित प्रतिबद्धता अनुसार कार्य प्रगति नदेखिएको, कार्य प्रगति अगाडि बढाउन गम्भीर नदेखिएको, कार्य सम्पन्न प्रतिवेदन नबुझाएको र यस कार्यालयबाट पटक पटक मौखिक, टेलिफोन तथा पत्राचार मार्फत ताकेता गर्दा समेत बेवास्ता तथा अटेर गरेको पाइएकोले सम्पन्न भएका खानेपानी तथा सरसफाइ आयोजनाहरुको हकमा यथाशीघ्र कार्य सम्पन्न गरी अनिवार्य रुप्मा आयोजना सम्पन्न प्रगति प्रतिवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
गत माघ महिनामा खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका टीम लिडर एवं सरोकारवाला सङ्गको प्रगति समिक्षा गोष्ठीमा फागुन मसान्तभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले कार्ययोजना सहित पेश गरेको प्रतिबद्धता पत्रमा समयमै आयोजना सम्पन्न गर्न नसकेमा कोष विकास समितिले गर्ने कार्वाहीको भागीदार हुन समेत मञ्जुर छौं भनी हस्ताक्षर गरेका थिए ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा दशौं समूह अन्तर्गत विभिन्न सहयोगी संस्था (गैरसरकारी संस्था) हरुको सहजीकरण तथा प्राविधिक सहयोग एवं उपभोक्ता समितिहरुको प्रत्यक्ष संलग्नतामा देशका विभिन्न जिल्लामा ग्राभिटी तथा सतही पम्पिङ लिफ्ट, स्यालो ट्यूबवेल, ओभरहेड ट्याङ्क प्रविधिका खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माण भईरहेको छ ।