
सोम आचार्य : विश्व यतिबेला कोरोना भाइरसको महामारीका कारण गतिशून्य भएको छ । मानिसहरु घरभित्र थुनिएका छन् । सधैँ गतिशील रहने समुदाय मौन प्रायः छ । शक्ति राष्ट्रका प्रमुखदेखि फोर्ब्स पत्रिकाको अर्बपतिको सूचीमा रहेका अर्बपतिहरु पनि कोठाभित्र चुपचाप रहेका छन् ।
कोरोना भाइरसकै कारण विश्वको शक्ति सन्तुलनमै परिवर्तन आउने हो कि भन्ने विश्लेषण समेत हुन थालेको छ । एकथरी विश्लेषकहरु चीन सुपर पावरको रुपमा देखा पर्ने बताउँदै छन् भने भर्खरै विश्व बैङ्कले चीन र भारतको आर्थिक बृद्धि दर भने अस्वाभाविक रुपमा घट्ने बताएको छ ।
नगरपालिका तथा गाउँपालिकाहरुमा कार्यालय प्रवेश गर्नु अगाडि अनिवार्य साबुनपानीले हात धुने बानीको विकास गर्नुपर्छ भन्दा ओठ लेप्य्राउनेहरुको चेत अब पनि खुल्छ कि खुल्दैन हेर्न भने बाँकी नै छ ।
विश्व समुदायको चित्र कस्तो हुने हो भावी दिनमा देखिने नै छ तर कोरोना भाइरसले सरसफाइको क्षेत्रमा ल्याएको तरँगको बारेमा भने कोही पनि बेखबर छैन । कोरोना भाइरसको जोखिमबाट जोगिन विश्व स्वास्थ्य संगठनले देखाइरहेको एउटै उपाय हो सरसफाइ । खासगरी दिनमा १० देखि १५ पटक साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र व्यक्तिगत सरसफाइलाई ध्यान दिने हो भने कोरोना भाइरस जस्ता महामारीबाट बाँच्न सकिने विश्व स्वास्थ्य संगठन तथा प्रख्यात डाक्टरहरुको बिचार छ ।

सबैतिर सरसफाइका कुरा हुन थालेको छ । प्रत्येक समस्यामा अवसर पनि हुने गर्छ भने जस्तै कोरोना भाइरस महामारीकै कारण सरसफाइ विकासको मूलप्रवाहीकरणमा समावेश हुने अवसर पनि प्राप्त हुने बलियो आधार तयार हुँदैछ ।
सरसफाइ अभियानकर्मीहरुले सरसफाइलाई जीवन पद्धति बनाउनुपर्छ भन्दै वकालत गर्दा सरसफाइलाई विकासको आयाम नमान्नेहरु सरसफाइको महत्व बारे बुझ्दै होलान् । अहिंसाका पुजारी महात्मा गान्धीको एउटा प्रसिद्ध भनाइ छ, “Sanitation is more important than political freedom” अर्थात् राजनीतिक स्वतन्त्रताभन्दा सरसफाइ महत्वपूर्ण छ । गान्धीको यो भनाइ आज प्रमाणित भएको छ । बन्द कोठाभित्र पनि हात धुँदै बस्नुपरेको छ । स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीहरु समेत बन्द कोठा भित्र सरसफाइकै बहश गर्दै आनीबानी परिवर्तनको वकालत गर्दैछन् । सरसफाइलाई ध्यान दिएको भए कोरोना भाइरसकै कारण आज यति धेरै मानवीय, सामाजिक तथा आर्थिक क्षतिको भार विश्व समुदायले भोग्नु नपर्ने थियो होला ।
कोरोना भाइरसकै कारण आज विश्वमा यति धेरै क्षति हुनाको पछाडि सरसफाइ विकासको मूलप्रवाहमा स्थापित हुन नसक्नु नै प्रमुख कारण मान्न सकिन्छ । सरसफाइकर्मीहरुले धेरै अघि देखि हात धुने अभ्यासलाई गाउँ तथा समुदायमा अभियानको रुपमा चलाए तर हात धुने बानी संस्कारका रुपमा विकास हुन नै पाएन । साबुन पानीले हात धुनु पर्छ भन्दा साबुन किन्ने पैसा छैन भन्ने मानिसहरुको संख्या अहिले पनि अत्याधिक रहेको छ । दिसा गरिसके पछाडि साबुनपानीले हात धुने बेग्लै स्थान निर्माण गरौँ भन्दा झगडा गर्नेहरुको संख्या अहिले पनि कम छैन । नगरपालिका तथा गाउँपालिकाहरुमा कार्यालय प्रवेश गर्नु अगाडि अनिवार्य साबुनपानीले हात धुने बानीको विकास गर्नुपर्छ भन्दा ओठ लेप्य्राउनेहरुको चेत अब पनि खुल्छ कि खुल्दैन हेर्न भने बाँकी नै छ ।
विपदबाट कसैको पनि मृत्यु हुँदैन, मृत्यु त मानवीय कमजोरीका कारण हुने हो । कोरोनाकै कारण मृत्यु हुने भने होइन सरसफाइलाई महत्व नदिँदा भने मृत्यु अवश्य हुन्छ । नहुनु भयो आगामी दिनमा यस्तै प्रकारका विपद तथा महामारीबाट बच्न अब भने बेलैदेखि सचेत हुन जरुरी छ त्यसका लागि मूलत निम्न सवालहरुलाई सरकारी तथा गैह्रसरकारी क्षेत्रले प्रमुखताका साथ उठाउन आवश्यक देखिन्छ ।
क्षमता विकास : कोरोना जस्तो महामारीबाट बच्नको लागि समुदायको क्षमता विकास अनिवार्य छ । जोखिमको व्याख्या, बिश्लेषण, पूर्व तयारी तथा जोखिम न्यूनीकरणको लागि अपनाइनुपर्ने बिषयमा समुदायको क्षमता विकास भएको अवस्थामा सम्भावित असर कम गर्न अवश्य सकिन्छ । समुदायमा रहेका विद्यालय , स्वास्थ्य चौकी तथा अन्य संघ संस्थाको क्षमताको पहिचान गरी महामारी तथा विपद्को समयमा त्यसलाई प्रयोग गर्न सकिन्छ । मानवीय स्रोत र साधनको समेत पहिचान अनिवार्य छ जसको कारण विपद्को समयमा पहिचान गरिएका मानवीय स्रोतको प्रयोग गर्न सकिन्छ ।
अहिलेको अवस्थामा कोरोना भाइरस नियन्त्रणका लागि कस्ता मानवीय स्रोतको प्रयोग गर्ने हो भन्ने कुरामा समेत स्थानीय निकायहरु अलमलिरहेका छन् । यदि पहिले नै मानवीय स्रोत र साधनको पहिचान भएको भए यो बेला स्थानीयस्तरमा रहेका पूर्व स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न सकिन्थ्यो जसले जोखिम न्यूनीकरणमा ठूलो सहयोग अवस्य पुग्ने थियो । समुदायमा ज्ञानको क्षेत्रमा बृद्धि अनिवार्य छ जसको कारण महामारीको समयमा समुदाय आफैँ परिचालन हुन सकोस् न कि बाहिरीयाको भर पर्नुपरोस् ।
सरसफाइमा समानता : विपद्को समयमा सबैभन्दा जोखिममा रहेको समूह बृद्धबृद्धा, बालबालिका, फरक क्षमता भएका तथा दीर्घरोगी मानिसहरु पर्दछन् । सरसफाइको दृष्टिकोणले हेर्दा पनि बृद्धबृद्धा, बालबालिका तथा फरक क्षमता भएका मानिसहरुलाई ध्यान दिएर हात धुने स्थान तथा चर्पीहरुको निर्माण भएको पाइँदैन । हात धुने स्थान तथा शौचालयको डिजाइन र अवस्थिति महिला, बालबालिका र अपाङ्गतामैत्री हुनुपर्ने बाध्यकारी नियमनै बनाउनुपर्छ । विपन्न एवं वञ्चित समूहहरुको बाहुल्यता भएको स्थान लगायत विकट एवं दुर्गम क्षेत्रहरुमा सरसफाइका कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयनमा जोड दिनुपर्छ ।
पूर्ण सरसफाइ अभियान र स्थानीय तहको अग्रसरता : खुला दिसामुक्त मुलुक घोषणाको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब पूर्ण सरसफाइतर्फ अग्रसर हुनेछ भनेर बोलेको कुराले सञ्चार माध्यममा राम्रै स्थान पाएको थियो । मुलुकका कार्यकारीले बोलेको कुरालाई प्रदेश तथा स्थानीय तहले कार्यान्यवनमा लगेर मुलुकलाई छिट्टै पूर्ण सरसफाइ उन्मुख मुलुकको रुपमा विकास गर्न सकियोस् तर हाल सम्म पनि प्रदेश सरकार तथा स्थानीय तहहरुले पूर्ण सरसफाइलाई संस्थागत गर्न सकिरहेका छैनन् । दिगो विकास लक्ष्यका सत्रवटा लक्ष्यको छैँठौ लक्ष्यले खानेपानी तथा सरसफाइलाई राखेको छ र सन् २०३० सम्ममा प्रत्येक नागरिक सरसफाइको पहुँचमा पुग्ने कल्पना गरेको छ भने नेपालले पनि हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएको छ । विपद् तथा महामारीको समयमा सरसफाइ र स्वास्थ्य नै महत्वपूर्ण हुन्छ । अब स्थानीय निकायहरुले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्दै सरसफाइको क्षेत्रमा आमूल परिवर्तनको लागि तयार हुनुपर्छ ।
भविश्यमा हुन सक्ने सम्भाबित जोखिम कम गर्न आजैबाट लागौँ । सरसफाइलाई संस्कारको रुपमा विकास गरौँ , जीवन पद्धति बनाऔँ ।
लेखक : ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम /बिराट सामुदायिक अध्ययन केन्द्र झापाका कार्यक्रम संयोजक हुन् ।


2078 पटक हेरिएको 

