
सोम आचार्य, झापा : कोरोना भाइरसको कारण झण्डै ६५ हजार मानिसको ज्यान गइसकेको छ भने १२ लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन् । दिन दुई गुणा र रात चार गुणा कोरोना भाइरसको प्रकोप बढ्दो छ भने बिश्वका धेरै मुलुक लकडाउनमा छन् ।
नेपालमा पहिलो पटक आव्हान गरिएको सात दिनको लकडाउन पश्चात दोस्रो पटक आव्हान गरिएको लकडाउनको पनि पाँचौ दिन चलिरहेको छ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाले झापाको बिर्तामोड नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियान लकडाउनको समयमा पनि जारी छ ।
पूर्ण सरसफाइका सूचकहरु पूरा गर्न समुदाय आफै क्रियाशील छ । समुदायलाई पूर्ण सरसफाइ उन्मुख बनाउन लागि परिरहेको बिर्तामोड वडा नं. ८ को एउटा समुदाय हो हर्चना । हर्चनामा रहेका ५७ घरधुरी यतिखेर पूर्ण सरसफाइ अभियानलाई तिव्रता दिइरहेका छन् । पूर्ण सरसफाइका सूचकहरु निर्माण गरिरहेका छन् भने सौन्दर्यकरणको लागि समेत जुटेका छन् ।
हर्चनामा रहेका ५७ घरधुरीमा नकुहिने फोहोर व्यवस्थापनको लागि ‘फोहोर मलाई’ को व्यवस्थापन भएको छ । सबै घरधुरीमा हात धुने ठाउँको निर्माण गरिएको छ भने हात धुनको लागि धाराको टुटी सहितको बाल्टीको व्यवस्था गरिएको छ । सबै घरधुरीमा किचन र्याकको व्यवस्थापन जस्ता काम गरी लकडाउनको समयमा पनि पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् ।

हर्चनामा लकडाउनको समयमा भएको प्रगति
सबै घरधुरीमा भाँडा सुकाउने चाङ्गको निर्माण
सबै घरधुरीमा पानी शुद्धीकरणको लागि फिल्टरको व्यवस्थापन
हात धुने ठाउँको निर्माण र हात धुनको लागि धाराको टुटी सहितको बाल्टीको व्यवस्था
फोहोर जलाउने इन्सिनिरेटरको निर्माण
साबुन, ब्रस तथा सरसफाइ सामाग्रीको उचित व्यवस्थापन
गाई गोठको व्यवस्थापन
घर – घरमा स्वागत गेटको निर्माण
बगैंचाको निर्माण
पूर्ण सरसफाइ अभियान कार्यान्वयनके क्रममा बिर्तामोड नगरपालिका वडा नं. ८ ले त्रिबर्षीया पूर्ण सरसफाइ रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगेको छ भने हर्चनाले पनि टोल स्तरीय पूर्ण सरसफाइ योजना निर्माण गरिसकेको छ ।

हर्चनालाई झापाको पहिलो पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउने प्रतिबद्धता सहित समुदायका सबै घरधुरी यस काममा लागिरहेको हर्चना नमुना टोल व्यवस्थापन समितिका अध्यक्ष जीतलाल राजवंशीले बताउनुभयो । राजवंशी भन्नुहुन्छ ‘लक डाउनको समयमा हर्चनाका सबै घरधुरीले एकै खालका भाँडा सुकाउने चाङ्गको निर्माण, हात धुने ठाउँको निर्माण तथा ट्युबवेलको प्लेटफर्म र फोहोर जलाउने इन्सिनिरेटरको निर्माण गरेका छौँ ।’
हर्चनालाई पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउन वडा प्रतिनिधि पनि सक्रियताका साथ लागिरहनुभएको पूर्ण सरसफाइ सहजकर्ता अनिल गौतम बताउनुहुन्छ । हर्चनालाई पूर्ण सरसफाइ उन्मुख बनाउन वडा कार्यालयको तर्फबाट पनि सहयोग रहेको र आगामी दिनमा समेत सहयोग रहने वडा सदस्य गंगा राजवंशीले बताउनुभयो । हर्चनालाई पूर्ण सरसफाइ उन्मुख टोल बनाइसकेपछि वार्डका अन्य समुदायलाई पनि पूर्ण सरसफाइ उन्मुख बनाउन लागिपर्ने वडा सदस्य राजवंशीले बताउनुभयो ।
कोरोना भाइरसबाट टाढा रहन सरसफाइको काम महत्वपूर्ण हुने भएकाले अरु बेला भन्दा पनि यही बेला बढी ध्यान दिनुपरेको वडा सदस्य राजवंशीले बताउनुभयो । अरु बेला भन्दा यही बेला समुदायले पनि कान थापेर सुनेको र कार्यान्वयन गर्न पनि सजिलो हुने उहाँको अनुभव छ । उहाँका अनुसार अरु बेला हात धुन पनि सिकाईरहनुपर्छ र ? भन्ने समुदाय अहिले आफैले हात धुने ठाउँको निर्माण र हात धुनको लागि धाराको टुटी सहितको बाल्टीको व्यवस्था गर्न सक्रिय रुपमा लागेका छन् ।

स्टोरी लेखक आचार्य, ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम र बिराट सामुदायिक अध्ययन केन्द्र झापाका कार्यक्रम संयोजक हुनुहुन्छ ।


1782 पटक हेरिएको 

