‘बोलन्या थली’ जसले घर-घरै नि:शुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ

धनगढी : कैलाली भजनी घर भएकी नन्दा शर्मा कामका लागि धनगढीमा डेरा गरेर बस्नुहुन्छ। सधैं महिनावारी भएको समयमा बजारबाट प्याड किनेर चलाउने नन्दासँग लकडाउनका कारण साथमा प्याड थिएन । महिनावारी भयो तर के लगाउने साह्रै आपत पर्‍ये उहाँलाई । उहाँले बोलन्या थली नामक गैरसरकारी संस्थाले लकडाउनको समयमा स्यानिटरी प्याड वितरण गर्छ रे भन्ने सूचना फेसबुक मार्फत थाहा पाउनुभएको थियो, उहाँले तुरून्तै थलीलाई सम्पर्क गर्नुभयो र उहाँको समस्या हल भयो ।

फेसबुकमा प्याड चाहिनेले म्यासेज गर्नुहोला लेखेको देखेकी थिएँ। बजार किन्न जान मिलेन। म्यासेज गरे। बोलन्या थलीको एक जना कर्मचारी आएर म र यहाँ बस्ने अरू केही महिलाहरूलाई पनि प्याड दिएर जानुभयो उहाँले भन्नुभयो ।

यस्तै बर्दियाकी एलिसा न्यौपानेले पनि बोलन्या थलीबाटै प्याड लिनुभएको छ । ‘बजार बन्द छ। बोलन्या थलीको एक जना दाइ छेउको घरमा पुर्‍याउन आउनुभाथ्यो। प्याड नभए सम्स्या होला भनेर मागेर राखें’ उहाँले भन्नुभयो ।

बोलन्या थली नामक गैरसरकारी संस्थाले लकडाउन भएको यो समयमा प्याडको मौज्दात नभएका महिलालाई नि:शुल्क स्यानिटरी प्याड बाँड्न थालेको छ। लकडाउनका कारण बजार बन्द भएपछि प्याड नभएर अप्ठ्यारोमा परेका महिलालाई घर-घरै प्याड पुर्‍याइदिने व्यवस्था गरेको थलीका संयोजक यादव जोशीले बताउनुभयो । उहाँले अहिलेसम्म चार दर्जन बढी महिलालाई प्याड वितरण गरिसकेको जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनपछि आश्रय अड्डा र दैलोमै औषधि अभियान सुरू गरिसकेको संस्थाले महिलाहरू समस्यामा परेको थाहा पाएपछि प्याड पनि वितरण गर्न थालेको हो । धनगढी उपमहानगरपालिका -८ मा रहेको दृष्टि फाउण्डेसनमा बस्ने महिलाहरूलाई महिनावारीका बेला प्याड अभाव भएपछि थलीले नै ल्याइदिएको सञ्चालिका कल्पना भट्टले बताउनुभयो ।

‘केहीदिन अघिमात्रै पनि चार जना महिनावारी भएका थिए’ भट्टले भन्नुभयो ‘हरेक महिना ४५ प्याकेट स्यानिटरी प्याड चाहिन्छ। तीन महिनाअघि ल्याएका सबै प्याड सकिए। अहिले लकडाउनका बेला सेफ्टी प्याड बजारबाट ल्याउन समस्या छ। यस्तो बेला थलीले हामीलाई घरमै प्याड ल्याइदियो सजिलो भयो।’

‘एकदिन घरमा मेरी श्रीमती (दीपा जोशी)ले यो समयमा बाहिर आउन नमिल्ने भएकाले दिदीबहिनीहरू समस्यामा हुनुहुन्छ भन्ने कुरा गरिन्, दीपाले सबैसँग स्टक हुँदैन बजारमा किन्न समस्या छ भनेपछि बोलन्या थलीको अरू अभियानसँगै दैलोमै स्यानिटरी प्याड पुर्‍याउन सुरू गरेका हौं।’ निस्शुल्क प्याड वितरण गरिरहेका जोशीले बताउनुभयो ।

‘महिलाहरूको स्वास्थ्य सुरक्षा– पुरूषहरूको दायित्व’ भन्ने नारा दिएर थलीले घरदैलोमै प्याड पुर्‍याइदिएको छ। जोशी आफैं कोरोना संक्रमणबाट बच्ने उपाय अपनाएरै मोटरसाइकलमा प्याड लिएर घर-घरै जानुहुन्छ । प्याड आवश्यक पर्नेहरूले उहाँलाई फोन र म्यासेज गर्छन्। कतिले त उहाँकी श्रीमतीलाई समेत फोन गर्छन्।

बोलन्या थलीका देशभर ४ हजार बढी सदस्य छन्। उनीहरूको समन्वयबाट पनि सेवा लिन सकिने जोशीले जानकारी दिनुभयो । आपतको घडीमा नन–क्यालिब्रेटेट साधनको प्रयोग गर्दा महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हेतुले यो योजना ल्याएको जोशीले बताउनुभयो ।

यही वर्ष दर्ता भएको संस्थाले निस्शुल्क प्याड अभियान सुरू गरेपछि अहिले देशभरबाट ४ हजार बढी पिस प्याड सहयोग प्राप्त भएको संयोजक जोशीले बताउनुभयो । संस्थाले प्याड मात्रै नभई लकडाउनका बेला कसैलाई औषधि आवश्यक परेको छ भने त्यो पनि घर-घर पुर्‍याइदिने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार