पछिल्लो समय उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नजोडिकन मृगौला र कार्यक्षमताका बारे ट्विट लेखेर प्रधानमन्त्री प्रति संकेत गरेका थिए ।
काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय समिति र वाग्मती प्रदेश कार्यकारिणी समितिले आफ्ना आजीवन सदस्य तथा नेपाल सरकारका पूर्व सचिव भीम प्रसाद उपाध्यायलाई विना शर्त तत्काल रिहाईको माग गरिएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय कार्यालय र वाग्मती प्रदेश कार्यकारिणी समितिद्वारा छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी घटना प्रति गम्भीर ध्यानाकार्षण भएको र विना शर्त तत्काल रिहाइ गर्न माग गरिएको हो । एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्य र महासचिव छविराज पोख्रेलद्वारा हस्ताक्षतिर विज्ञप्तीमा भनिएको छ ‘लोकतान्त्रिक शासन पद्धतिको गहना भनेकै अभिव्यक्ति स्वतन्त्रता हो । कुनै कुरा व्यक्त गर्दा मर्यादाभित्र रहेर निर्वाध रुपमा बोल्ने, अभिव्यक्त गर्ने स्वतन्त्रता सबै नागरिकले पाउनु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’
यस्तै वाग्मती प्रदेश कार्यकारिणी समितिका सभापति नन्द बन्जाडे र सचिव प्रदिप अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘हरेक सचेत नागरिकले संविधान र प्रचलित कानुनको सीमाभित्र रही आफ्नो व्यक्तिगत अभिव्यक्ति शिष्ट र मर्यादित तवरले राख्नुपर्ने कुरामा यस एशोसिएसन विश्वास गर्दछ र अभिव्यक्तिकै आधारमा कसैलाई पनि गिरफ्तार नै गर्ने कुरा प्रति भने यस एशोसिएसन खेद प्रकट गर्दछ । अतः ई.भीम प्रसाद उपाध्यायको तत्काल बिना शर्त रिहाईको लागि जोडदार माग गर्दछ ।’
सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा प्रहरीको साईबर ब्युरोले बुधबार राति उपाध्यायलाई आफ्नै निबास ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको थियो । सामाजिक सञ्जालबाट अपवाह फैलाएको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साइबर ब्युरोका एसएसपी नवीन्द अर्यालका अनुसार विभिन्न व्यक्ति र बेनामे उजुरीका आधारमा उपाध्यायलाई पक्राउ गरिएको हो । पछिल्लो समय उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नजोडिकन मृगौला र कार्यक्षमताका बारे ट्विट लेखेर प्रधानमन्त्री प्रति संकेत गरेका थिए ।




2183 पटक हेरिएको 


