काठमाडौ : सफाइ कर्मचारीमा कोरोना भेटिएको छ । वीरगन्ज महानगरपालिका छपकैयाका ५० बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी वीरगन्ज महानगरपालिकाको सफाइ कर्मचारी हुन् । उनीसँगै छपकैयाकै अर्का ५० बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यसअघि सफाइ कर्मचारीमा कोरोना भेटिएको थिएन ।
छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुई जनामा पोजिटिभ देखिएको हो।
दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । वीरगञ्जमा २ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमित भएकाको संख्या ५१ पुगेको छ । ती मध्ये १२ जना निको भएर घर फर्किसकेका छन् ।