सफाइ नाइकेलाई नै कोरोना लागेपछि १५० सफाइकर्मीको पीसीआर परीक्षण गर्ने तयारी


वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा सरसफाइका नाइके नै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि अन्य १५० जना सरसफाइकर्मीको पनि पीसीआर परीक्षण गराउने तयारी भएको छ । आज कोरोना भाइरस भेटिएका व्यक्ति वडामा सरसफाइको नाइकेका रुपमा काम गरेकाले उनीसँगै काम गर्ने अन्य सरसफाइकर्मीको पनि पीसीआर परिक्षण गराउने तयारी गरिएको हो ।

वडा नं. ३ का अध्यक्ष बैजु स्वर्णकारका अनुसार उनी बिहानैदेखि सरसफाइको काममा निस्कन्थे । उनको मातहतमा १५ जना सफाइकर्मी कार्यरत थिए । आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनलाई नारायणीको आइसोलेसनमा राखिएको छ । वडा कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार छपकैया पोखरीमा वडा अध्यक्ष बैजु स्वर्णकार सहित १५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

वडाका सफाइ नाइकेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार आफू घरमै बसेको वडाध्यक्ष स्वर्णकारले बताउनुभयो ‘उहाँ वडाको सफाइकर्मीको नाइके हुनुहुन्छ, बिहानैदेखि वडामा घुमेर सरसफाइको काम गराउनुहुन्थ्यो । चिकित्सकको सल्लाह अनुसार म होम क्वारेन्टाइनमा बसेको छु । २/३ दिनमा पुनः पीसीआर टेष्ट गर्ने सोचमा छु ।’उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले छपकैया क्षेत्रमा र्‍यापिड टेष्ट मात्रै गरेर नहुने बताउनुभएको छ । त्यस क्षेत्रका शंकास्पद मानिसहरुको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट नै परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ भने १६ जना उपचार पश्चात घर फर्किएका छन् । वीरगञ्जमा उपचार गराइरहेका तीन जना भारतीय जमाती र एक जना रौतहटका १९ वर्षीय युवक आजै डिस्चार्ज भएका हुन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार