पानीले ल्याएको सम्वृद्धि

भरत अधिकारी :बारीको पाटामा प्लाष्टिक बिछ्याएर बनाएको पोखरीमा पानी टलपल छ । पोखरीदेखि तलतिर बारीमा लसुन, प्याज, काउली, रायो लगायतका सागसब्जी लहलह छन् । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं. ३, टोक्लाबाङ गाउँका वासिन्दा देवेन्द्र भट्टराईले घरायसी प्रयोजनबाट बढी भएको पानी जम्मा गरेर बनाएको यो पोखरीबाट करेसाबारीमा सिंचाई हुन्छ । स्थानीय जलकन्या आधारभूत विद्यालयका शिक्षक भट्टराई आजभोलि अरुलाई पनि तरकारी खेती गर्न हौसला दिनुहुन्छ ।

दुई वर्ष अघिको कुरा गर्ने हो भने यस गाउँका कुनै पनि घरमा यस्तो दृष्य देखिएला भन्ने कल्पना पनि गर्न सकिंदैनथ्यो । त्यतिखेर त भट्टराईकै शब्दमा गाउँभरिका मानिसको जमघट गाउँको पुछारमा रहेको पँधेरामै हुने गर्दथ्यो । हिउँदभरि बारी बाँझै हुन्थ्यो, पानीको अभावले करेसाबारी लगाउने कुरा त परै जाओस्, तिर्खा मेटाउन पनि गाह्रो पर्थ्यो।
कोष विकास समितिको आर्थिक सहयोग एवं सहयोगी संस्था देउराली सोसाइटीको सहजीकरण र प्राविधिक सहयोगमा आयोजना सञ्चालनको दशौं समूहमा सम्पन्न भएको चापाबोटे खानेपानी तथा सरसफाइ आयोजनाले यहाँका वासिन्दाहरूको जीवनमा ल्याएको परिवर्तन साँच्चै नै उल्लेखनीय छ । यहाँका वासिन्दाले गाउँको पुछारमा रहेको मुहानबाट लिफ्ट प्रविधिबाट पानी तानेर तिर्खा मेटेको मात्र होइन, पानीको सदुपयोग गरी पशुपालन र तरकारी खेतीबाट फाइदा पनि लिएका छन् ।


२०७५ वैशाखमा सम्पन्न भएको यो आयोजनाबाट समुदायका ५५६ घरमा धारा आएपछि आफूले बिस्तारै तरकारी खेती गर्न जानेको यहाँका वासिन्दाहरू बताउँछन् । पहिले पहिले बारीमा बर्खायाममा मात्र तरकारी हुन्थ्यो भने अहिले हिउँदमा पनि तरकारी खेती हुन थालेको छ । “उतिखेर हामी लसुन प्याज लगायतका तरकारी किन्थ्यौं । अहिले आपूmले खाएर बचेको बेच्न पाइएको छ । पहिले बजारमा देखेका तरकारी अहिले आफ्नै बारीमा फलेको देख्दा अझै काम गर्ने जाँगर बढ्दो रहेछ । दुई वर्ष अघिसमम किनेको कुरा अहिले बेच्न पाएपछि हामीलाई दोहोरो फाइदा भएको छ” भट्टराई भन्नुहुन्छ ।

पानीले आफ्नो जीवन सहज बनाएको मात्र होइन, सरसफाइ सम्बन्धी बानी व्यवहार नै परिवर्तन भएको यहाँका वासिन्दा बताउँछन् । “समुदायलाई खुला दिसामुक्त बनाउने सिलसिलामा घर घरमा चर्पी त बनेका थिए, तर पानीको अभावले गर्दा त्यसको उचित प्रयोग हुन सकेको थिएन” उपभोक्ता समितिका अध्यक्ष टीका लिम्बु भन्नुहुन्छ “अहिले मानिसहरूको व्यक्तिगत सरसफाइ साँच्चै राम्रो भएको छ, घर वरपर, चर्पी, वस्तुभाउको गोठ सबैतिर फोहोरको अंश पनि देखिंदैन ।”

घरमा पानीको सुविधा भएपछि विद्यार्थीहरू विद्यालयमा ढिलो आउने र गयल हुन छोडेको भट्टराई बताउनु हुन्छ । “पहिले पहिले विद्यार्थीहरू र खासगरी छात्राहरू दिनभरिलाई पानीको जोहो गरेपछि मात्रै विद्यालय आउने पाउँथे भने अहिले त्यस्तो स्थिति छैन” उहाँ भन्नुहुन्छ ।

यस आयोजनाको उपभोक्ता समिति सक्रिय रूपले काम गरिरहेको छ । उपभोक्ता समिति अन्तर्गतको खानेपानी सुरक्षा समितिले खानेपानी सुरक्षा योजना बनाएर काम गरिरहेको छ । खासगरी बर्खायाममा पानीमा हुन सक्ने प्रदूषण रोक्न र उपभोक्ताहरूलाई पानी शुद्धिकरण सम्बन्धी ज्ञानलाई व्यवहारमा लागू गराउन सदस्यहरू सक्रिय रहेका छन् ।

लेखक ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा सञ्चार तथा क्षमता विकास विज्ञ हुनुहुन्छ ।  यस फिचरलाई हामीले कोष विकास समितिद्वारा प्रकाशित चौमासिक बुलेटिन पानी, सरसफाइ र जीवनबाट साभार गरेका हौं । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार