गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड

काठमाडौ : गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका ९४ जना महिलालाई धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । लकडाउनका कारण बाहिर निस्कन नपाउँदा प्याडको अभाव भएको भन्ने सूचनाको आधारमा ती महिलाहरुको बास स्थानमै पुगेर कपडाको (धोएर पुनः प्रयोग गर्न मिल्ने) प्याड वितरण गरिएको डेज फर गर्ल्स नेपालकी निर्देशक माया खैतुले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल अपाङ्ग संघ जोरपाटी नारायणटार र नेपाल स्पाइनल स्पोर्ट एसोसिएसन जोरपाटीका ३७ जना, माकलबारी होस्टेलका अपाङ्गता भएका १० जना दिदीबहिनीहरुका लागि प्याड वितरण गरिएको हो । यस्तै समानताको आवाज अपाङ्ग होस्टेलका ७ जना र सानोठिमीको गलैंचा कारखानाका ४० जना महिलालाई पनि धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क रुपमा वितरण गरिएको निर्देशक खैतुले जानकारी दिनुभयो ।

उनीहरुलाई प्याडलाई धोएर पुनः प्रयोग गर्ने विधिका बारेमा जानकारी गराईएको उहाँले बताउनुभयो । विपदको समयमा अरु प्याड भन्दा धोएर पुनः प्रयोग गर्ने प्याड नै प्रभावकारी हुने उहाँले बताउनुभयो । ‘दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ, यस्तो अवस्थामा लकडाउन कति लम्बिन सक्छ भन्ने पनि थाहा छैन । अन्य प्याड प्रयोग गर्दै विसर्जन गर्दा सकिन सक्छ । तर धोएर लगाउने प्याड भने जत्ति पटक पनि लगाउन सकिन्छ ।’ निर्देशक खैतु भन्नुहुन्छ ‘लकडाउनको समयमा मात्र नभई अरु जुनसुकै विपदको बेलामा पनि बाहिर गएर बेला बेलामा किनिरहन त्यत्ति सजिलो हुँदैन । विपदको समयमा र अरु समयमा पनि धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड नै प्रभावकारी हुन्छ ।’

उहाँका अनुसार मानिसलाई खान, लाउन जस्तै महिनावारी हुँदा प्रयोग गर्ने साधनको पनि उत्तिकै आवश्यकता हुन्छ । अझ विपदको समयमा राहत वितरण गर्दा समेत महिनावारी हुने उमेरका महिला भएको घरका लागि स्यानिटरी प्याड समेत संलग्न राख्नुपर्ने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार