सरकारले भन्यो, शौचालयले नेपाली सभ्यताको स्तर माथि उठायो, दक्षिण एसियामै पहिलो हुने सफलता


काठमाडौ : सरकारले शौचालयले नेपाली सभ्यताको स्तर माथि उठाएको र यो कार्यमा दक्षिण एसियामै पहिलो हुने सफलता प्राप्त भएको जनाएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयो ‘सरकारले शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीलाई सभ्यताको एक स्तर माथि उठाउने कार्यमा दक्षिण एसियामै नेपाललाई पहिलो हुने सफलता मिलेको छ ।’

नेपालले सन् २०११ मा सरसफाइ गुरुयोजना जारी गरी सरसफाइलाई अभियानको रुपमा सञ्चालन गर्न थालेपछि एक घर एक चर्पी निर्माण अभियान सुरु भएको थियो । सरकारको अगुवाईमा विकास साझेदार, गैरसरकारी संस्था तथा नागरिक समाजको सक्रियतामा सबै नेपालीको घरमा शौचालय निर्माण गरी प्रयोगमा ल्याएपछि ७७ वटै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । तत्पश्चात गत असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै ‘खुला दिसामुक्त तथा पूर्ण सरसफाइ तर्फ अग्रसर नेपाल’ घोषणा गर्नुभएको थियो ।

यो उपलब्धीलाई सरकारले नेपाली सभ्यतासँग जोडेर हेरेको छ र भनेको छ ‘शौचालयले नेपाली सभ्यताको स्तर माथि उठायो’ ।

अहिले देशैभरि पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका छन् । यस अभियान अन्तर्गत स्वच्छ र सफा क्षेत्र एवं पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने क्रम जारी छ । लकडाउनका कारण तालिम, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नभएपनि चर्पी निर्माण तथा सुधार, हात धुने ठाउँको व्यवस्था गर्ने, घर वरपरको वातावरण सफा राख्ने, घरको सौन्दर्य व्यवस्थापन, फोहोरको वर्गीकरण तथा व्यवस्थापन लगायत नियमित कामहरु भईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार