छात्रालाई प्याड उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाएन


काठमाडौ : शुक्रबार संघीय संसदको दुबै सदन (प्रतिनिधी सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा अन्य क्षेत्रको जस्तै खानेपानी तथा सरसफाइ क्षेत्रका पनि केही कार्यक्रमहरु समेटिए तर समेट्नै पर्ने कार्यक्रमले भने निरन्तरता पाएन ।

सरकारले गत बर्षको नीति तथा कार्यक्रम मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रमको निरन्तरता हुनेमा धेरैको अपेक्षा थियो । तर सरकारले यस बर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिएको छैन । सरकारको नीति तथा कार्यक्रमले यस बिषयमा केही पनि बोलेको छैन । छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउँदा छात्राहरुको कक्षा उपस्थिति दर बढेको, यसले छात्र सरह शैक्षिक उपलब्धी हासिल गर्नका लागि छात्राहरुलाई सक्षम बनाई प्रतिस्पर्धी बनाएको, छात्राहरुको महिनावारी स्वच्छतामा सहयोग पुगेको जस्ता सकारात्मक नतिजा आउन थालेपनि सरकारको नीति तथा कार्यक्रममा यस बिषयलाई समावेश गरिएको छैन ।

सरकारले बालबालिकालाई विद्यालयमा ल्याऔं र पढाईमा टिकाऔं, कार्यक्रमलाई थप प्रभावकारी बनाई सबै विद्यार्थीले कम्तीमा माध्यमिक तह पूरा गर्ने व्यवस्था मिलाईने भनेको छ र तर छात्राहरुलाई विद्यालयमा नियमित हाजिर हुन सघाएको कार्यक्रमलाई भने समावेश गरेको छैन । सरकारको नीति तथा कार्यक्रममै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत शिक्षण संस्थाको भौतिक पूर्वाधार तथा सिकाइ सुविधामा सुधार गरिने र यस कार्यक्रममा वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास तथा नवप्रवर्तन एवं वौद्धिक प्रतिभालाई प्रोत्साहन लगायत कार्यक्रम समावेश गरिने उल्लेख छ । तर यसमा पनि छात्राको निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने बिषयलाई भने समावेश गरेको छैन ।

यस्तै छाउपडी प्रथा अन्त्यका लागि गृहमन्त्रालयको निर्देशनमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेका छाउगोठहरु भत्काएको सरकारले यस सम्बन्धमा सचेतना बढाई उक्त कुप्रथा हटाउन कुनै नीति लिएको देखिदैन । सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने बिषय समावेश नभए पनि कतै बजेटमा समेटिन्छन् भन्ने झिनो आशा बाँकी नै रहेको महिनावारी स्वच्छताको क्षेत्रमा क्रियाशील अभियन्ताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार