महिनावारी शरिरलाई आराम दिने विशेष समय हो : सञ्चारकर्मी चटौत

काठमाडौ : सञ्चारकर्मी एवं नेपाल टेलिभिजनकी निर्देशक आरती चटौतले महिनावारी शरिरलाई आराम दिने एक विशेष समय भएको बताउनुभएको छ । महिनावारी सम्बन्धी चेतनामुलक प्रतियोगिताको समापन कार्यक्रममा निर्देशक चटौतले महिनावारी एक सामान्य प्राकृतिक प्रकृया भएकाले यसमा छुवाछुत हुन नहुने बताउनुभयो ।

विश्व महिनावारी स्वच्छता दिवस २०२० को अवसरमा महिवारीको अनुभवलाई सृजनात्मकरुपमा प्रस्तुत गर्न प्रोत्साहित गर्दै गैर सरकारी संस्था गुथिले सेफ्टि स्यानिटरी प्याड उत्पादक ज्यास्मिन हाइजिन कम्पनीको सहकार्यमा ‘‘मेरो महिनावारी मेरो लागि के अर्थ राख्छ’’ भन्ने विषयमा #WhatMyPeriodMeanstoMe प्रतियोगिता आयोजना गरेको थियो ।

निर्देशक चटौतले भन्नुभयो ‘महिनावारीको समयमा पाप धर्मको कुरा गर्ने, दुःखी हुने मानसिक पिडा लिने नै होइन, गुथिले महिनावारीको विषयलाई उठान गरेर जुन प्रतियोगिता गरेको छ त्यसले समाजिक रुपान्तरणमा ठुलो भुमिका खेल्नेछ । यसको नतिजा तत्काल नदेखिए पनि भोलिका दिनमा पक्कै प्रभाव देखाउनेछ ।’

‘महिनावारी भनेको मेरो मर्यादासँग जोडिएको कुरा हो । मेरो शरीरमा मेरो अधिकार रहन्छ । यो कुनै पनि बहानामा छुत र अछुत हुँदैन । महिनावारीको कारण छोइने भन्ने हुँदैन त्यो मेरा स्वाभिमान विरुद्ध लगाइएको कलङ्क हो त्यसैले मेरो शरिरलाई अछुतो भन्ने अधिकार कसैलाई छैन । हामी आत्मविश्वासका साथ यस कुरीतिको विरुद्ध लाग्ने हो भने पुरुष दाजु भाईले पनि सहयोग गर्नेछन् तसर्थ भविश्य उज्ज्वल छ ।’ चटौतले भन्नुभयो ।

सुदुरपश्चिममा महिनावारी भएको अवस्थामा छाउगोठमा राख्लान, काठमाडौंमा कोठाबाट अलग राख्लान सन्दर्भ फरक होलान् तर मानसिकता एउटै हो जुन गलत छ । अन्तराष्ट्रिय महासन्धि CEDAW ले भन्छ कि महिलालाई महिला भएकै कारणले अपमान वा अपमानजन्य व्यवहार गरिन्छ भने त्यो अपराध हो । नेपालको संविधानले पनि कुनै प्रथा, परम्परा या कुनै कारणले महिलालाई अपमानपूर्ण व्यवहार हुन्छ भने त्यो गलत हो ।

यस्तै दुई पटक विश्वको उच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेकी विश्वका प्रथम महिला पत्रकार कल्पना महर्जनले पनि आफ्नो अनुभव बाँड्ने क्रममा भन्नुभयो ‘जतिबेला म महिनावारी भैरहेकी थिएँ । आरोहण गर्ने क्रममा रगत आउने क्रम पनि अरु समय भन्दा धेरै नै बढी भयो । त्यहाँ बाट फर्के पछि पनि एक महिनासम्म रगत बग्ने क्रम जारी रह्यो । यसले आरोहणको क्रममा धेरै समस्या भयो र रगत बढी बगेकोले प्याड नपुगेको र पहिलो पटक अरोहण गर्दा आफ्नो टोलीलाई गाइड गर्ने शेर्पालाई महिनावारी भएको र प्याड फेर्न एक छिन रोकिनु पर्ने कुरा राख्न पनि अप्ठेरो भयो ।’

धर्म प्रति आस्था राख्ने महर्जनले धेरै धर्म गुरुसँग महिनावारी बारे प्रश्न गरेको अनुभव पनि सुनाउनुभयो । ‘समाजबाट आमाहरुले जे सिक्नुहुन्छ त्यही कुरा उहाँहरुले हामीलाई सिकाउनुहुन्छ यसै कारण बालबालिका र भर्खरका केटीहरुलाई आफैले यस विषयमा खोज गर्न अनुरोध गर्नुका साथै महिनावारी नराम्रो र अपवित्र नभई यो सामान्य प्राकृतिक प्रकृया हो ।’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार