कामपा उपमेयर खड्गी भन्छिन् ‘सानै छँदा महिनावारी भनेको के हो भनेर सोध्थें’

काठमाडौ : काठमाडौं महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले आफू सानै हुँदा नै महिनावारी बारे प्रश्न उब्जिएको र उक्त प्रश्न आफ्ना आमा बाबुलाई सोधेको बताउनुभयो । गैर सरकारी संस्था गुथिले महिनावारीका बिषयमा आयोजना गरिएको विबिनारमा उपमेयर खड्गीले भन्नुभयो ‘मेरो आफ्नै अनुभवमा पनि म सानै छँदा मैले आफ्नो आमा बुवालाई महिनावारी भनेको के हो भनेर प्रश्न गर्थे । उहाँहरुले यो एक प्राकृतिक प्रकृया हो जस अन्तर्गत महिलाहरुलाई आमा बनाउन महिनाको एक पटक महिनावारी हुने गरेको भनेर बुझाउनुभयो । जसले गर्दा मलाई समाजमा महिनावारीको विषयमा खुलेरै कुरा गर्न सहज भयो ।’

महिनावारीका बारेमा सबैको मनमा प्रश्न उब्जिने गरेको र महिनावारीलाई सहजरुपमा ग्रहण गर्नका लागि चेतना र शिक्षा फैलाउनुपर्ने उहाँले बताउनुभयो । हाल कोरोना भाइरसका कारण सुदुरपश्चिममा क्वारेन्टाइनमा रहेका महिलाहरुलाई महिनावारीमा प्याड जस्ता सामग्री नपाएर दुःख भोग्नु परेको प्रसंग निकाल्दै उपमेयर खड्गीले समस्या परेको महिलालाई सहयोग पुर्‍याउन सबै संघसंस्थालाई आग्रह गर्नुभयो ।

नेपालमा १५% महिलाहरुले मात्र महिनावारी हुँदा स्यानिटरी प्याडको प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ । जसमध्ये ८०% स्यानिटरी प्याड भारतबाट आयात हुने गरेको छ । जस्मिन हाइजिन प्रोडक्ट लिमिटेडका मेनेजिङ डाइरेक्टर पुनित सारदाका अनुसार महिलाहरुको महिनावारी स्वच्छतामा पहुँच बढाउन नेपाली स्यानिटरी प्याड उद्योगलाई प्रबर्द्वन गर्नुपर्छ । यसका लागि प्याडलाई अति आवश्यकीय वस्तुको सूचीमा राखी प्याडमा लगाउँदै आएको विभिन्न करहरु मिनाहा गर्नुपर्छ । नेपालमा बार्षिक ९ करोड १० लाख स्यानिटरी प्याड खपत हुने गरेको एक अध्ययनले देखाएको छ ।

प्रजनन् क्षमता भएका महिलाको जनसंख्याको आधारमा नेपालमा बार्षिक १५ करोड थान सेनेटरी प्याडको आवश्यकता हुने बजार प्रक्षेपण गरिएको छ । PSI Nepal ले सन् २०१६ सेप्टेम्बर देखि सन् २०१७ को अगष्ट सम्म गरेको अध्ययनले हरेक प्रजनन उमेरका महिलाले बार्षिक १४४ वटा स्यानेटरी प्याड प्रयोग गर्नुपर्ने देखिए पनि औसतमा ९ वटा प्याड मात्र प्रयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार